• १३ असोज २०८१, आइतबार

डोको बुन्ने प्रतिस्पर्धामा गुरुङ प्रथम

blog

परम्परागत चोयाको डोको बुन्ने प्रतिस्पर्धाका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा बुधबार भएको परम्परागत चोयाको डोको बुन्ने प्रतिस्पर्धामा फुङ्लिङ नगरपालिका –९ का धनबहादुर गुरुङ प्रथम हुनुभएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवको अवसरमा गरिएको डोको बुन्ने प्रतिस्पर्धामा गुरुङ प्रथम हुनुभएको हो । 

प्रतिस्पर्धामा सहभागीमध्ये गुरुङले सबैभन्दा छिटो चोयाको डोको बुन्नुभएको थियो । यस्तै, फुङ्लिङ नगरपालिका –९ कै लक्ष्मण गुरुङ द्वितीय र सिदिङ्वा गाउँपालिका –६ मेहेलेका कालीबहादुर गुरुङ तृतीय हुनुभएको छ । डोको बुन्ने प्रतिस्पर्धामा १४ वर्षीय एक बालक समेतले सहभागिता जनाएको आयोजकले जनाएको छ ।  

परम्परागत डोको बुन्ने प्रतिस्पर्धामा डोकोको आकार, चोयाको गुणस्तर, बनोट प्रकृति, डोकोको गुणस्तरीयता र समयावधिलाई आधार मानेर प्रथम, द्वितीय र तृतीय छनोट गरिएको मेला तथा महोत्सव सहआयोजक घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साइँले जानकारी दिनुभयो । 

परम्परागत घरेलु सामग्रीको संरक्षण तथा लघुउद्यम सिर्जनालाई प्रोत्साहन गर्न डोको बुन्ने प्रतिस्पर्धा गराइएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका सचिव हर्कराज गुरुङले बताउनुभयो । 

सचिव गुरुङका अनुसार डोको बुन्ने प्रतिस्पर्धामा प्रथम हुनेले १० हजार, द्वितीयले पाँच हजार र तृतीयले दुई हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै अन्य सबै सहभागीलाई प्रोत्साहन स्वरुप पाँच सय रुपियाका दरले नगद प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । यसैगरी महोत्सवको तेस्रो दिन बिहीबार पातको टपरी बुन्ने प्रतिस्पर्धा राखिएको थियो । 

उद्यम व्यवसाय तथा घरेलु उत्पादनको प्रवर्धन गरी पर्यटन विकासमा टेवा गर्ने उद्देश्यसहित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले मेला तथा महोत्सवको आयोजना गरेको हो । सदरमुकाम फुङ्लिङमा मङ्गलबार सुरु भएको पाँच दिने मेला तथा महोत्सव शनिबार सम्पन्न हुनेछ ।