• १३ साउन २०८१, आइतबार

शिक्षण पेसासँगै फष्टायो मौरीपालन व्यवसाय

blog

शिक्षण पेशासँगै गुल्मीका शिक्षक रोमनाथ अर्याल मौरीपालन व्यवसायमा । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, चैत २१ गते । शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ। 

अर्यालले वि.सं. २०६३ मा एक घार मुढो मौरीसहितको ५५० रुपियाँमा खरिदारी ल्याएर मौरीपालन व्यवसाय सुरु गर्नुभयो । २०६४ मा तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट मौरीपालन सम्बन्धी सात दिने आधारभूत तालिम लिएलगत्तै मौरीपालन व्यवसायलाई बृहत्तर रूपमा लैजाने सोच बनाएको उहाँले बताउनुभयो । 

उमेरले ४१ वर्ष पुग्नुभएका अर्यालले मौरीपालन व्यवसायलाई बृहत्तर रूपमा अघि बढाउन सिमिचौर रैयामा भगवती मौरीपालन विकास स्रोत केन्द्र नामक फार्म नै सञ्चालन गर्नुभयो । “मौरीपालनका लागि मौरी विकास शाखा गोदावरीमा २९ दिने आवासीय तालिम लिएपछि दुई वर्षको समयमा एक गोलाबाट मौरीलाई विस्तार गरेर दश गोला पुर्‍याएको हुँ ।” 

उहाँले भन्नुभयो, “त्यतिबेला मेरो शिक्षण पेसा मुसिकोटमा थियो । सोचेजस्तो मौरीको गोला विस्तार हुन सेक्न । वि.सं.२०६९ पश्चात् घरपायक पर्नेगरी सरुवा भएर आइसकेपछि मौरीको गोला विस्तारसँगै मह उत्पादन पनि हुन थाल्यो ।” त्यस समयमा वार्षिक एक क्विन्टल मह उत्पादन भएको थियो ।  

वि.सं.२०७० देखि अर्यालले मौरीपालन व्यवसायमा अझ बढी सक्रिय भएर लागेको बताउनुभयो । यता, कृषि क्षेत्रमा सक्रिय हुँदै गर्दा विद्यालयमा अध्यापन कार्यलाई पनि त्यत्तिकै चासो दिएको उहाँले बताउनुभयो । पूर्णरुपमा अहिले स्थानीयस्तरमै गोला तथा मह घरबाट नै विक्री गर्दैआएको उहाँले चर्चा गर्नुभयो ।। 

“दुई सिजन (वसन्त र शरद) मा मौरीजन्य उत्पादन बढी हुन्छ । वसन्त ऋतुमा गोला विस्तार एवम् शरद ऋतुमा मह उत्पादन हुन्छ । विगत तीन–चार वर्षदेखि सोचेजस्तो मह उत्पादन भएको छैन ।” उहाँले भन्नुभयो, “अहिले पनि  मह उत्पादनमा शून्य भएको छ । असोज महिनामा धेरै वर्षा भएको थियो । त्यस्तै, यहाँ मैन पुतलीको ठूलो प्रकोप छ ।” 

अहिले जम्मा बिस माउँ गोला रहेको छन् । यसलाई फागुन लागेपछि गोला विस्तार गर्ने उहाँले बताउनुभयो । त्यतिमात्र होइन आँप, लिची र कटरको बगैँचा समेत छ । दुई भैँसी, एक बाख्रा र एक माछा पोखरी छ । अर्यालको ७५ वर्षीय बुवा, ७३ वर्षीय आमा, ३९ वर्षीय श्रीमती र तीन छोराछोरी हुनुहुन्छ । उहाँका छोराछोरी तम्घासको रेसुङ्गा बहुमुखी क्याम्पस र महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ । 

प्रकृतिमा खेर गइरहेको पुष्परसबाट मौरीजन्य उत्पादन मह सङ्कलन गरी आम्दानी लिनका लागि शिक्षण पेसासँगै यो व्यवसायलाई अगाडि बढाएको उहाँले बताउनुभयो । मानिसले प्रकृतिसँग रम्न र सामाजिक बन्न पनि मौरीबाट सिक्ने अवसर मिल्ने उहाँको भनाइ छ । सबै खर्च कटाएर यसबाट वार्षिक तीन–चार लाख आम्दानी हुन्छ । 

आवश्यक परे मौरीपालन सम्बन्धी ज्ञान प्रदान गरिने उहाँले बताउनुभयो । अर्याल रेसुङ्गा नगरपालिका –१० सिमिचौरमा रहेको भगवती माध्यमिक विद्यालयको प्रावि तहको स्थायी शिक्षक हुनुहुन्छ ।