• १३ साउन २०८१, आइतबार

सामूहिक च्याउ खेतीमा महिला

blog

इनरुवाको पारिजात महिला कृषक समूहका महिला च्याउ खेती सुरु गर्दे । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, चैत २० गते । सुनसरीको इनरुवा नगरपालिका –३ का महिला सामूहिक च्याउखेतीमा रमाएका छन् । घरमा बस्ने महिलाले समूह बनाएर टोलमै सामूहिक च्याउ खेती सरु गरेका हुन् । इनरुवा –३ का महिलाले पारिजात महिला बहुउद्देश्यीय कृषक समूह निर्माणगरी सामूहिक च्याउ खेती सुरु गरेको नेकपा (माओवादी केन्द्र) इनरुवा नगर अध्यक्ष तोया गिरी पोदारले जानकारी दिनुभयो । 

महिलालाई कृषि ज्ञान केन्द्र सुनसरीको तालिमसहितको अनुदानमा च्याउ खेती गर्न सहज भएको पोदारले बताउनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्रको एक लाख रुपियाँ अनुदान र पारिजात महिला कृषक समूहको ३४ हजार रुपियाँ लगानीमा च्याउ खेती सुरु गरिएको हो । 

कृषि ज्ञान केन्द्र सुनसरीले महिलालाई च्याउ खेतीसम्बन्धी हालै तालिम दिएर वीउ र भुस तथा परालको सिलिन्डर बनाउन सिकाएकाले च्याउखेती सहज भएको समूहका अध्यक्ष कमला पोखरेलले जानकारी दिनुभयो । सरकारी अनुदान र महिलाको सक्रियतामा सामूहिक च्याउ खेतीतर्फ आकर्षित भएको पोखरेलले बताउनुभयो । 

बजार क्षेत्रमा घरेलु च्याउको माग बढ्न थालेपछि आफूहरू व्यावसायिक च्याउ खेतीमा लागेको उहाँको भनाइ छ । वडाका २० घरधुरीका २५ जना महिला च्याउ खेतीका लागि पराल संकलन गरी प्लास्टिकका थैलोमा राखेर बीउ छर्की च्याउ उमार्न थालेको समूहका सचिव मिना कार्कीले बताउनुभयो ।

समूहका सदस्य सरस्वती यादवले बजारमा प्रतिकिलो तीनसय रुपियाँदेखि ६ सय रुपियाँसम्ममा बिक्री हुन थालेपछि च्याउ खेतीतिर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरू तरकारीभन्दा च्याउ उत्पादन गर्न बढी फाइदाजनक लाग्यो ।’ बजारमा सहजै च्याउको बीउ पाउने र बीउ छरेको २० दिनमा च्याउ उत्पादन हुने गर्छ । 

गर्मी मौसम सुरु भएलगत्तै यहाँका महिलाहरू च्याउ उत्पादनमा लागेका छन् । घरको चुल्होचौको र खेतीपातीमा व्यस्त हुने महिला हिजोआज आयआर्जनतिर लागेका छन् । आफैं पैसा कमाएर घर खर्च र आफ्ना आवश्यकता टार्ने भएको समूहका सदस्यको भनाइ छ ।  

च्याउ खेतीसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीतिर लागेर महिला आत्मनिर्भर बन्दै गएका छन् । कृषि ज्ञान केन्द्रले प्रोत्साहन गर्न महिलालाई व्यवसायमा लाग्न प्रेरित गर्न क्षमता विकास तालिम र बीउसहित अनुदान दिएको प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।