• ९ मंसिर २०८१, आइतबार

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता गर्ने

blog

काठमाडौं, चैत २० गते । चलचित्र विकास बोर्डको आयोजनामा लघु चलचित्र प्रतियोगिता हुने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रूपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रतिस्पर्धा आयोजना गर्न लागेको बोर्डले जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन बोर्डबाट स्वीकृत ढाँचाको फारम भरी १० वैशाख २०८० सम्ममा चलचित्र विकास बोर्डको कार्यालय वा इमेल(fdbnepal@gmail.com) मार्फत पेस गर्नुपर्नेछ । प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रमध्ये उत्कृष्ट तीनले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी एक लाख ५० हजार, एक लाख र ७५ हजार रुपियाँ प्राप्त गर्नेछन् । 

पुरस्कृत फिल्मलाई बोर्डले व्यावसायिक तथा गैरव्यवसायिक रूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउने भएको छ ।

यस्तै, प्रतियोगितामा सहभागी हुने फिल्म कम्तीमा ५० प्रतिशत नेपालमा नै छायाङ्कन भएको र ५० प्रतिशत चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका फिल्मले मात्र भाग लिन पाउनेछन् र ती फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्ने बोर्डले जनाएको छ ।