• १३ साउन २०८१, आइतबार

सिद्धार्थ राजमार्ग दैनिक नौ घण्टा बन्द हुने

blog

सिद्धबावाको रामापिथेकस क्षेत्रको जोखिमयुक्त ढुङ्गा हटाइँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, चैत २० गते । सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक दैनिक नौ घण्टा बन्द गर्न लागिएको हो । 

सुरुङ मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको माग अनुसार यही २०७९ चैत २१ गतेदेखि दैनिक नौ घण्टा सडक बन्द हुनेछ । सडक बन्द गरेर निर्माण व्यवसायीले आवश्यक काम गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । निर्माण व्यवसायीले सुरुङ मार्गका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सडक बन्द गर्नुपर्ने पत्र पठाएकाले सोही अनुसार निर्णय गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । अर्को सूचना नभएसम्मका लागि सडक बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ । 

प्रजिअ बास्तोलाका अनुसार अत्यावश्यक सवारीसाधन एम्बुलेन्सलगायतलाई भने आवतजावतमा कुनै बाधा हुनेछैन । यसअघि पनि त्यस क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक चरणको काम गर्न सडक बन्द गरिएको थियो । 

सिद्धबावा क्षेत्रमा १ हजार १२६ मिटर सुरुङ मार्ग निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको आयोजना पक्षले जनाएको छ । सुरुङ मार्गको डिपिआर स्वीकृतिको चरणमा रहेका र हाल त्यस क्षेत्रमा जोखिमयुक्त ढुङ्गा निकाल्ने, आवश्यक सामग्री डम्पिङ गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ ।