• २२ वैशाख २०८१, शनिबार

‘मधेश शहीद मार्गको डीपीआर छिट्टै’

blog

धर्बेन्द्र झा

धनुषा, चैत २० गते ।  मधेश प्रदेशको गौरवको आयोजनाका रूपमा प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश रहेको मधेश शहीद मार्गको डीपीआर निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतबार मधेश शहीद मार्गको सार्वजनिकीकरणका लागि आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सो जानकारी गराउनुभएको हो। पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग रहने गरी मधेश प्रदेशको सप्तरीदेखि पर्सासम्मको आठवटै जिल्लाको भूभागलाई समेट्ने गरी शहीद मार्ग निर्माण हुने र त्यसका  लागि डीपीआर निर्माण गर्न टेन्डर प्रक्रिया भइसकेको उहाँले जानकारी गराउनुभयो। 

दुई महिनाभित्र डीपीआरको प्रतिवेदन तयार गर्ने गरी टेन्डर प्रक्रिया भएको उहाँले बताउनुभयो। पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गलाई छुन नसकेको मधेश प्रदेशका पालिकालाई यस मार्गमा छुने गरी समावेश गरिएको मन्त्री यादवले बताउनुभयो। सहरीकरणको दृष्टिकोणले एकदमै महत्वपूर्ण रहने मधेश शहीद मार्ग निर्माण भएपछि प्रदेशको आर्थिक समृद्धिमा ठूलो भूमिका खेल्ने उहाँले दाबी गर्नुभयो।

करिब ३१० किलोमिटर लम्बाइ रहने उक्त मार्ग दुई लाइनको रहने र चारवटा कन्सल्टेन्सीले आआफ्नो सीमा निर्धारण गरी डीपीआरको कामलाई सोमबारदेखि अगाडि बढाउने उहाँले बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले डीपीआर तयार भएपछि यसै आर्थिक वर्षमा टेन्डर गरिने जानकारी दिनुभयो। प्रदेश सरकारले आफ्नो बजेट परिचालन गर्ने र दातृ निकायसँग पनि सहयोगका लागि आग्रह गर्ने उहाँले बताउनुभयो। 

मधेश शहीद मार्ग सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको ग्रामीण भागलाई छुने गरी निर्माण हुने र यसबाट हरेक पालिका सहरीकरणमा परिणत हुने उहाँको धारणा थियो। मन्त्रालयका प्राविधिकको लगातार दुई महिनाको मेहनतले ‘एलाइनमेन्ट’ चयन भएको र यसको निर्माणमा सबैको सहयोग आवश्यक भएको उहाँले बताउनुभयो।