• १३ असोज २०८१, आइतबार

गर्भवती महिलाको उद्धारमा जनप्रतिनिधि

blog

गर्भवती महिलालाई स्टेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजादैँ जनप्रतिनिधि तथा गाउँलेहरु । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङको दुर्गम तथा बिकट स्थानीय तह फक्ताङ्लुङ गाउँपालिकाको एक महिलाको जनप्रतिनिधिले उद्धार गरेका छन् । सो गाउँपालिकाको तिन्दु टोलमा अहिलेसम्म सडक नपुगेपछि स्थानीयलाई उपचारमा समस्या हुनेगरेको छ ।

तिन्दु टोलकी एक गर्भवती महिलालाई शनिबार सुत्केरी व्यथा लागेपछि सोही वडामा घर भएका गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बू उद्धारमा खटिनुभयो । सडक पहुँच नभएकाले हत्तपत्त उपाध्यक्ष लिम्बूले स्टेचरको प्रबन्ध मिलाउन सहयोग गर्नुभएको थियो ।

गर्भवती महिलालाई स्टेचरमा बोकेर करिब एक घण्टाको पैदल दूरीमा पर्ने खेजेनिम स्वास्थ्य संस्थामा लगिएको थियो । सुत्केरी व्यथा लागेकी स्थानीय सोममाया लिम्बूलाई स्टेचरमा बोकाएर गाउँको स्वास्थ्य संस्थामा पुग्दा उपचार सम्भव नहुने भन्दै जिल्ला अस्पताल लैजान सिफारिस (रेफर) गरियो ।

आफैँले स्टेचरमा बोकेर प्रसूति केन्द्र लगेएकी गर्भवतीलाई थप सुविधा भएको स्वास्थ्य संस्था लैजान सिफारिस भएपछि उहाँलाई सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताल लगिएको थियो । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले चढ्ने गाडी (सवारी साधन) मार्फत शनिबार नै गर्भवती महिलालाई जिल्ला अस्पताल लगिएको थियो ।  

दुर्गम तथा असुविधा रहेको ठाउँबाट जनप्रतिनिधिको प्रत्यक्ष सहयोगमा सुत्केरी व्यथा लागेको गर्भवतीलाई जिल्ला अस्पताल लगेपछि बिरामी पनि ढुक्क हुनुभयो । यस्तै, प्रकृति अर्थात गर्भवतीसहित जटिल अवस्थाका बिरामीलाई उद्धार गर्ने भनेर फक्ताङ्लुङमा पालिका अध्यक्ष लिम्बूले चढ्ने गाढी सुरुदेखि नै एम्बुलेन्सको रुपमा प्रयोग गरिँदैआएको छ । 

कार्यकाल सुरु हुँदैदेखि प्रयोगमा ल्याइएको गाउँपालिकाको गाडीमार्फत हालसम्म करिब तीन सय जना बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराइएको छ । यस्तै, गाउँपालिकाअन्तर्गत जिल्लाकै दुर्गम गाउँ ओलाङ्चुङगोला, याङ्मा, फले घुन्सामा प्रसूति व्यथा तथा सिकिस्त बिरामी भएकाको उद्धार गर्नुपरेमा हेलिकप्टरको प्रयोग गर्ने गरिएको छ ।