• १३ साउन २०८१, आइतबार

जंगल सफारीले पर्यटक बढाउने विश्वास

blog

पर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, चैत १९ गते ।  पूर्वी नवलपरासी देवचुलीको पिप्रहरबाट चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको सुरुवात गरिएको छ । पर्यटनको प्रचुर सम्भावना रहेको नवलपुरको देवचुलीमा पहिलो पटक पिप्रहरबाट निकुञ्जमा जङ्गल सफारीको सुरुवात गरिएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुने विश्वास गरिएको छ ।  

पछिल्लो समय जङ्गल सफारीका लागि पर्यटकको मोह बढ्दो रहेकाले होटल होमस्टे तथा पर्यटन व्यवसायी समिति देवचुलीको आयोजनामा राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अन्तर्गत गिद्धेनी पोष्टदेखि पुरानो आइल्याण्ड क्पाम्पसम्मको नयाँ पर्यटन मार्गमा चल्ने जिप सफारीको सुरुवात गरिएको हो । 

नवलपुरको शिख्रौलीमा रहेको निकुञ्जको गिद्धेनी पोस्टबाट निकुञ्जभित्र रहेको आइसल्याण्ड जङ्गल रिसोर्टसम्मको करिब ५५ किलोमिटर लामो पर्यटन मार्गको उद्घाटन भएसँगै देवचुली –१७ मा रहेको पिप्रहर होमस्टेबाट जङ्गल सफारीको सुरुवात गरिएको छ ।

नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्जभित्र जङ्गल सफारी सुरु भएसँगै वन्यजन्तुको माध्यमबाट देवचुलीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने नगरप्रमुख हरिप्रसाद न्यौपानेले विश्वास व्यक्त गर्नुभयो । 

निकुञ्जको संरक्षणसँगै प्रवर्धनमा लाग्नसके यहाँका आम उपभोक्ताको जीविकोपार्जनमा पनि थप टेवा गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । जिप सफारीले नवलपुरमा पर्यटन प्रवर्धनमा यसले मुख्य भूमिका खेल्ने बताउनुभयो । 

जङ्गल सफारी वन्यजन्तु पारखीका लागि महत्त्वपूर्ण साबित हुने जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष एवम् पर्यटन व्यवसायी सन्तोष धितालले बताउनुभयो । निकुञ्ज क्षेत्रमा जङ्गल सफारी अगाडि बढाउनका निम्ति विगतका दिनदेखि गरेको मेहनतेले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

पर्यटन विकासका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको देवचुली वडा १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले बताउनुभयो । नवलपुर जिल्ला पर्यटनका हिसाबले अग्रणी जिल्ला रहेकाले यहाँ रहेका पर्यटन प्रवर्द्धनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।