• १३ असोज २०८१, आइतबार

गाईघाट–दिक्तेल सडक फराकिलो बनाइँदै

blog

गाईघाट समाचारदाता

गाईघाट, चैत १९ गते । सदरमुकाम क्षेत्रमा सवारीसाधनको चाप अत्यधिक हुन थालेपछि गाईघाट–दिक्तेल सडक फराकिलो बनाउने काम सुरु भएको छ। 

गाईघाटस्थित पुरानो आँखा अस्पतालदेखि बोक्से, करमगाछी हुँदै बरुवा पुलसम्मको चार किलोमिटर क्षेत्रमा अस्फाल्ट प्रविधिको कालोपत्रेसहित सडक फराकिलो बनाउने काम धमाधम भइरहेको गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो।

सो सडक स्तरोन्नतिका लागि मङ्सिर १२ गते भएको ठेक्का सम्झौताअनुरूप मूल्य अभिवृद्धि करसहित आठ करोड ३४ लाख ६० हजार रुपियाँको लागतमा २०८२ साल जेठ १२ गतेसम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने गरी जय एन्ड ब्रदर–पवित्रा जेबी निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको आयोजना प्रमुख खकुरेलले बताउनुभयो।

निर्माण कम्पनीले गाईघाटस्थित पुरानो आँखा अस्पताललाई जिरो बिन्दु मानेर सडक फराकिलो गर्ने काम सुरु गरेको हो। साढे सात मिटर कालोपत्रेसहित ११ मिटर चौडाईको फराकिलो सडक निर्माण गर्न अहिलेको सडकको दायाँबायाँ दुवैतर्फ बढाउनुपर्ने योजना छ। फराकिलो पार्न आँखा अस्पतालदेखि बोक्से निक्लने सडक छेउको खहरेदेखि रिटेनिङ पर्खाल लगाउने काम सम्पन्न हुन लागेको उहाँले बताउनुभयो।

फराकिलो र अस्फाल्ट कालोपत्रेसहितको सडक स्तरोन्नति हुने भएपछि बरुवा पुलसम्मको सडक आकर्षक हुनुका साथै सवारी आउजाउमा सहज हुने सो कार्यालयले जनाएको छ। यसअघि गरिएको कालोपत्रे उप्किसकेको र गुणस्तरीय पनि नभएको तथा चौडाई चार मिटर मात्र भएकोले सवारी साधनको चापअनुसार सडक साँघुरो हुँदा दोहोरो लेनमा यातायात चल्न धेरै कठिन हुन थालेपछि कालोपत्रेसहित सडक चौडा पार्न थालिएको डीई खकुरेलको भनाइ छ।

तीन वर्षअघि नै सदरमुकाम गाईघाटको बीच भाग भएर पूर्व–पश्चिम जोडिएको मदन भण्डारी लोकमार्गसँग जोडिएको हुनाले गाईघाट–दिक्तेल सडकलाई पनि स्तरोन्नति गर्नैपर्ने बाध्यता भएको हो। मदन भण्डारी सडकको कालोपत्रे उच्च गुणस्तरीय भएकाले त्यससँग जोडिएको गाईघाट–दिक्तेल सडक पनि उत्तिकै गुणस्तरीय र आकर्षक हुनुपर्ने माग जनस्तरबाट व्यापक आएकाले सडक योजना कार्यालयले गाईघाट–बरुवाखण्डमा अस्फाल्ट प्रविधिकै कालोपत्रे गर्ने कार्यअघि बढाएको उहाँले बताउनुभयो।

नेपाल सरकारको चालु वर्ष विनियोजित ४० करोड रुपियाँ मध्येबाट सो कार्य थालिएको र बाँकी रहेको बजेट बरुवा पुलभन्दा माथि पनि थप सडक स्तरोन्नति गर्ने योजना रहेको उहाँको भनाइ छ। तीन दशकअघि सुरु भएको गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गमा हालसम्म गाईघाटदेखि खाँबुको बागखोरसम्म कालोपत्रे भएको छ। तर सरफेस ड्रेसिङ प्रविधिमा गरिएको त्यो कालोपत्रे  गुणस्तरीय भने नहुने भएकाले अस्फाल्ट प्रविधिमै गर्ने गरी प्राविधिकको रायबमोजिम काम अगाडि बढाइएको हो।

२०५१ सालमा खोटाङको सदरमुकाम दिक्तेल जोड्ने योजनासहित तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गर्नुभएको सडक २८ वर्षमा पनि स्तरोन्नति हुनसकेको छैन। अझै पनि खोटाङ तर्फ सगरमाथा लोकमार्ग निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन। उदयपुरतर्फ गाईघाटदेखि सुनकोशी फोक्सिन्टारसम्म कालोपत्रे तथा नाला र कल्भर्टको काम ६० प्रतिशत भए पनि खोटाङतर्पmको फोक्सिन्टारदेखि दिक्तेलसम्म भने त्यति पनि हुन नसकेको आयोजना प्रमुख खकुरेलको भनाइ छ।