• १३ असोज २०८१, आइतबार

खानेपानी समस्याले बसाइँ सर्दै

blog

कविराज घिमिरे 

धनकुटा, चैत १९ गते । धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उहाँले दुःख व्यक्त गर्नुभयो, “हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।”

शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ । करिब २० हजार लिटर पिउने पानीका लागि र अन्य प्रयोजनका लागि २० लाख लिटर पानी सङ्कलन गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७० सालमा ट्याङ्की निर्माण गरेको थियो तर दुवै ट्याङ्की यतिबेला सुक्खा छन् । स्थानीय हरि विष्टले दुई महिनादेखि मूल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार भएको बताउनुभयो । 

धनकुटाको चौबिसे, शहीदभूमि, साँगुरीगढी, छथर जोरपाटीलगायतका पालिकामा खानेपानीको निकै समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कअनुसार धनकुटामा ११ प्रतिशत नागरिक खानेपानीको पहुँचबाहिर छन् । जिल्लामा पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्म खानेपानीका मूल सुकेको कार्यालयले जनाएको छ ।  कार्यालय प्रमुख राजकुमार मण्डलले जलवायु परिवर्तनसँगै वन फँडानी, अव्यवस्थित खनिएको बाटो, जथाभावी एक्साभेटर प्रयोग, भूकम्प, पोखरी मासिनु, बढ्दो कङ्क्रिट संरचना निर्माण हुनुलगायतका कारण खानेपानीको मूल मासिएको बताउनुभयो ।धनकुटा नगरपालिकामा प्रतिसेकेन्ड २४ लिटर पानी आवश्यक रहेकोमा प्रतिसेकेन्ड १२ लिटर मात्र पानी उपलब्ध हुँदै आएको छ । नगरप्रमुख चिन्तन तामाङले खानेपानीको दिगो व्यवस्थापनका लागि थप आयोजना सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले ग्रामीण क्षेत्रमा हिउँदमा पानीको समस्या निकै रहने गरेको गुनासो गर्नुभयो ।  

शहीदभूमि गाउँपालिकाका प्रमुख मनोज राईले अधिकांश स्थानमा खानेपानी समस्या रहेको बताउँदै खानेपानी व्यवस्थापनका लागि पानीको मूल नभेटिँदा मुख्य समस्या रहेको बताउनुभयो । महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायले पनि मूल नहुँदा समस्या रहेको बताउनुभयो ।

साँगुरीगढी गाउँपालिकामा पनि पानीको उस्तै समस्या छ । पालिकाका अध्यक्ष जितेन्द्र राईले लिफ्टिङ आयोजनाबाट पानी व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै केही ठाउँमा यस्तो प्रविधिको निर्माण जारी रहेको बताउनुभयो ।

चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले पनि पानी व्यवस्थापनका लागि मूल अभाव नै समस्या रहने गरेको गुनासो गर्नुभयो । शहीदभूमि गाउँपालिकाको पातालडाँडाआसपासका धेरै जमिन अहिले बाँझो छन् । एक दशकयता पानी समस्याकै कारण २० परिवार बसाइँ सरेको छ । चौबिसे गाउँपालिकाको कुरुले तेनुपा र छथर जोरपाटी गाउँपालिकाको तेलिया सबैभन्दा धेरै बसाइँ सराइ हुने क्षेत्र हुन् । त्यहाँको बसाइँ सराइको मुख्य कारण खानेपानी समस्या नै हो । छथर जोरपाटी गाउँपालिकाका प्रमुख छत्र सुब्बाले खानेपानी समस्याका कारण बसाइँ सर्नेक्रमलाई रोक्न नसकिएको बताउनुभयो ।