• १३ साउन २०८१, आइतबार

असिना पानीले दार्चुलामा बालीनाली सखाप

blog

दार्चुलाको अपि हिमालमा परेको असिना पानी । तस्बिरः लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, चैत १८ गते । शुक्रबारदेखि वर्षासँगै परेको असिनाले दार्चुलाका विभिन्न गाउँका किसानले लगाएको बालीनाली सखाप बनाएको छ । असिना पानीले किसानले लगाएको तरकारी, फलफूलका साथै गहुँ, जौँलगायत अन्नबाली सखाप पारेको हो । 

असिनाले सबैभन्दा बढी क्षति दार्चुलाको अपि हिमाल गाउँपालिकामा गरेको छ । बारीमा लगाएको सबै बालीनाली असिनाले सखाप पारेको अपि हिमालका स्थानीय उर्मिला बोहराले बताउनुभयो । हिउँदे वर्षा र हिमपात नभएको कारण अधिकांश बालीनाली खेतमै सुकिसकेको थियो । उहाँले भन्नुभयो, “सिञ्चित र ओसिलो ठाउँमा पाक्नै लागेको बालीमा क्षति गरेपछि कृषकहरू चिन्तित बनेका छन् ।”

असिनाले गहुँका बोटहरू ढलाएर सखाप पारेको उहाँको भनाइ छ । काट्ने अवस्थामा  अन्न असिनाले खोसिदिएपछि किसानलाई वर्षभरि खानेकुराको जोहो गर्न समस्या हुने उहाँहरूको दुःखेसो छ । किसानले बारीमा लगाएको फलफूलका बोटहरू र तरकारी समेत नष्ट गरेको अपि हिमालका अर्का स्थानीय पार्वती रोकायले बताउनुभयो ।

शुक्रबार राति अपि हिमाल गाउँपालिकाका विभिन्न वडामा परेको भारी असिना पानीले गहुँसहित अन्य हिउँदेबाली र तरकारीमा ठूलो क्षति पुगेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । अपि हिमाललगायतका हिमाली स्थानीय तहमा यो वर्ष हिउँदे वर्षा र हिमपात निकै कम भएको छ । बदली र वर्षाका कारण मध्यचैतमा समेत पुसजस्तै चिसो हुँदा जनजीवन प्रभावित बनेको स्थानीयबासीन्दाले बताएका छन् ।