महिला सृष्टिको प्रारम्भ हुन्। दया, माया, करुणा, ममता र प्रेमको पवित्र मूर्ति हुन्। कुनै राष्ट्रको परम्परा र संस्कृति त्यस राष्ट्रको महिलासँग नै परिलक्षित हुन्छ। महिला समाजको रचनात्मक शक्ति हुन्। महिला सशक्तीकरण आजको आवश्यकता हो। नेपालमा जनसङ्ख्याको आधाभन्दा बढी सङ्ख्या महिलाको छ। यसरी आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाले देश विकासको आधा हिस्सा जिम्मेवारी बोकेको हुन्छ।
आजको विकसित तथा मानव अधिकारको युगमा भेदभावरहित समाज पहिलो आवश्यकता हो। समानताबिना कुनै पनि सभ्य समाजको अस्तित्व रहन सक्दैन। समानता प्रत्येक व्यक्ति, समाज र राष्ट्रको लक्ष्य हो। लैङ्गिक समानता समाजको हरेक वर्गका महिलाको आवश्यकता, अप्ठ्यारा र अनुभवहरू प्रभावकारी रूपमा एकीकृत गरेर मात्र सुनिश्चित गर्न सकिन्छ। प्रचलित रूपमा सामाजिक सञ्जाल र कार्यक्रममा हुने महिला अधिकारका कुरामा ग्रामीण तथा आर्थिक–सामाजिक स्थिति कमजोर भएका महिलाले ठाउँ पाउन सकेका छैनन्। सहरका महिलाको तुलनामा ग्रामीण भेगका महिलालाई महिला अधिकारका विषयको जानकारी छैन, यो वर्गका महिलाले महिला अधिकारका अनुभूति नै गर्न सकेका छैनन्।
ग्रामीण महिला जति नै पुरुषबाट प्रताडित भए पनि न त केही बोल्न सक्छन् न त सम्बन्ध विच्छेद नै गर्न सक्छन्, गरे पनि अंश पाउँदैनन्। आर्थिक, सांस्कृतिक चुनौती, असमानता र असुरक्षा कायमै छ। महिलाहरू आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिकलगायतका हरेक क्षेत्रमा भेदभावबाट पीडित भइरहेका छन्। समाजमा महिलाविरुद्ध विभिन्न प्रकारका हिंसा कायमै छन्। यसरी वर्षौंदेखि महिलाविरुद्ध भइरहेको भेदभाव र हिंसाको फलस्वरूप आज देशको आधाभन्दा बढी जनसङ्ख्या ओगट्ने महिला पुरुषका तुलनामा हरेक क्षेत्रमा पछााडि परेका छन्।
ग्रामीण क्षेत्रका महिला आफ्नो पारिवारिक जीवनमा बढी व्यस्त छन्। बिहान परिवारका सबै सदस्यभन्दा अगावै उठ्नु, पशुबस्तुलाई दानापानी खुवाउनु, परिवारका लागि खाना तयार गर्नु, वनजङ्गलमा घाँस दाउरा सङ्कलन गर्नु, मेलापातमा जानु, घण्टौँसम्म हिँडेर टाढाटाढा पानी लिन जानु ग्रामीण महिलाको दैनिकी हो। निकै टाढासम्म पुग्न समय र मेहनत धेरै खर्च हुने, आफूभन्दा ठूलोठूलो घाँस तथा दाउराको भारी बोक्ने, शारीरिक बल प्रयोग गर्नुपर्ने साथै बच्चा जन्माउनुपर्ने र बच्चालाई दूध चुसाउनुपर्ने बेलामा आवश्यक पर्ने पोषणयुक्त आहार खानेकुरा र आरामसमेत नपुग्ने हुँदा महिला अनेकौँ रोगले ग्रस्त छन्। जस्तै– पाठेघर खस्ने, कुपोषण, कमजोरी आदि।
महिला तथा किशोरीकै योगदानमा प्रत्येक परिवारमा खाद्य सुरक्षामा महत्वपूर्ण भूमिका हुँदा पनि परिवारका सदस्यलाई अघाएपछि मात्र महिलाले खानुपर्ने संस्कृति छ; जसका कारण महिला तथा किशोरी कुपोषणको सिकार हुन बाध्य छन्। रातदिन नभनी महिला घरधन्दा र खेतीपातीमा व्यस्त हुन्छन् तर उनीहरूको नाममा जमिन हुँदैन न त कामको मूल्य नै हुन्छ। हाम्रो नेपाली समाजमा घरभित्रको कामलाई कामका रूपमा लिइँदैन। अझ ग्रामीण भेगमा त सबै काम जुन महिला शारीरिक रूपमा कमजोर छन्, जसले घरबाहिरको काम गर्न सक्दैनन् उसैले गर्ने चलन रहेको छ। उनीहरूलाई परिवारका कुनै पनि सदस्यले सघाउने गरेको पाइँदैन।
शताब्दीयौँदेखि थिचिएका र मिचिएका ग्रामीण महिलामा आफ्नो अधिकारबारे जानकार हुन नसक्दा धेरै ग्रामीण महिलाले आफूमाथि भइरहेको अन्याय र अत्याचार बुझ्न सकेका छैनन्। महिला अज्ञानताले यति थिचिएका छन् कि अन्याय हुँदा पनि निराकरण गर्न अगाडि बढ्न सक्दैनन्। अझ सामाजिक दबाब र प्रभाव यत्ति हुन्छ कि कतिपय महिलामाथि भएको अन्यायलाई समाजले यत्तिकै पचाइरहेको हुन्छ। झन् उल्टै महिलालाई नै विभिन्न आरोप–प्रत्यारोप लगाई यातना दिइन्छ। जातीय तथा लैङ्गिक विभेद उस्तै छ।
ग्रामीण महिलाको सवाल पेचिलो बन्न सकेको छैन। उनीहरूलाई परम्परागत मान्यताको माध्यमबाट सामाजिक भूमिकामा एउटा श्रीमती, दिदी, छोरी र बुहारीका रूपमा मात्र हेर्न चाहन्छन्। महिलाको स्वास्थ्यलाई सकारात्मक दृष्टिकोणले हेरिँदैन। अझ सुदूरपश्चिम क्षेत्रको ग्रामीण महिला त झनै महिनावारी हुँदा घरभन्दा परको गोठमा गई बस्ने चलन छ। सुत्केरी भएको अवस्थामा समेत पोषिलो र स्वास्थ्यवद्र्धक खाना खान पाउँदैनन्। छाउ गोठमै निस्सासिएर बस्ने चलन छ; जसले गर्दा सुत्केरी महिला तथा शिशुको अकालमा ज्यान जाने गरेको पाइन्छ।
त्यस्तै लैङ्गिक हिसाबले हेर्दा नेपाली ग्रामीण महिला कतिपय स्थान र समाजमा सन्तान उत्पादन गर्ने मेसिन मात्र हुन्जस्तो देखिएको छ र छोरा र छोरीमा अझै विभेद देख्ने मनोविज्ञान छ। छाउ प्रथा, दास प्रथा, बहुविवाह, अन्धविश्वास, लैङ्गिक विभेद, छुवाछूतजस्ता प्रथा हाम्रो समाजका उपज हुन्। ग्रामीण महिलालाई अगाडि बढ्ने वातावरणको अभाव छ। ग्रामीण महिलाको स्थितिमा अहिलेको समानता र समावेशिताको अवस्थामा पनि खासै सुधार भएको पाइएको छैन। अहिले पनि ग्रामीण महिलाको हातमा आर्थिक अधिकार नभएकाले उनीहरूलाई निर्णायक अधिकार प्राप्त भएको छैन। ग्रामीण महिलाले बिहानदेखि अबेर रातिसम्म केवल काम नै काम गर्नुपर्छ। मैले कति मूल्यको काम गरेँ भन्ने कुरा सोच्नेसम्म फुर्सद हुँदैन। बाहिरी काम सामान्यतया पुरुषले गरे पनि मसिनो र झन्झटिलो काम भने महिलाले नै गर्नुपर्ने हुन्छ।
सहरमा बस्ने महिलाको तुलनामा ग्रमीण महिला प्रायः अधिकांश क्षेत्रमा पछाडि नै परेका छन्। सहरी क्षेत्रमा बस्ने महिलाले जस्तो ग्रामीण महिलाले आफ्नो जीवनको निर्णय आफैँले लिन सकिरहेका छैनन्। अशिक्षा र अन्धविश्वासको भुमरीमा ग्रामीण महिला अझै पनि रुमल्लिइरहेका छन्। गरिबी, अशिक्षा, अन्धविश्वासबीचको खाडलमा निस्सासिइरहेका छन्। विपन्न समुदायका कोही महिला अगाडि बढ्न खोज्दा पुरातन समाजको पुरुष अहंले यसरी दबाउन खोज्छ कि अगाडि बढ्ने साहस गर्ने अधिकांश महिला आफ्नो उत्साह र साहस आफ्नै पैतालामुनि कुल्चन बाध्य हुन्छन्। केही अगाडि बढेजस्तो देखिने महिलाको पनि अवस्था उदेकलाग्दो छ। यो बाध्यात्मक अवस्था र सामाजिक विवशता पनि हो। महिलामाथिको दृष्टिकोण फेरिन नसकेको दृष्टान्त पनि हो। शिक्षाको अभाव, परम्परागत दृष्टिकोण, सहकार्यको अभाव, स्रोत र साधनको अभाव, लैङ्गिक विभेद अनि पितृसत्तात्मक पारिवारिक तथा सामाजिक संरचनाले गर्दा ग्रामीण महिला अगाडि बढ्नबाट वञ्चित छन्।
संसारका आधाभन्दा बढी महिला ग्रामीण क्षेत्रमा बसोबास गर्छन्। वास्तवमा कुनै पनि देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक ग्रामीण महिलाको अवस्थामा निर्भर रहन्छ। वर्तमान परिवेशमा शिक्षा, सञ्चार तथा प्रविधिको विकासले ग्रामीण महिलाको अवस्थामा केही सकारात्मक प्रभाव पारिरहेको यथार्थ छ। शान्तिका प्रतीक महिलामाथि अत्याचार र शोषणले सीमा नाघेको अवस्थामा महिला अहिले आएर आमा समूहमार्फत सङ्गठित भएका छन्। अलिकति भए पनि आफ्नो अधिकारप्रति चेतनशील भएका छन् तर विडम्बना पितृसत्ताले ग्रामीण महिलालाई शताब्दीयौँदेखि निर्णयमा सम्पूर्ण अधिकार दिएको छैन।
नेपाल एउटा अल्पविकसित तथा विश्वमा गरिब राष्ट्रहरूको सूचीमा सूचीकृत देश त हो नै तर हामी नेपाली अवश्य पनि माया र सद्भावमा गरिब छैनौँ। महिलाप्रति जिम्मेवार संस्था होस् या हामी केवल समाज, स्टिकर, पोस्टर, पम्प्लेट, प्रस्तावना पत्रमा मात्र होइन, हामी सबैले आ–आफ्नो ठाउँबाट महिला हिंसामुक्त समाज निर्माणको प्रयास गुर्नुपर्छ। लैङ्गिक विभेदलाई वहिष्कार गर्ने सामथ्र्य हुनुपर्छ।
महिला विकासको विषय महिलाको मात्र नभई सिँगो राष्ट्रकै सवाल हो। हरेक महिलाको सफलताका पछाडि पुरुषको साथ, सहयोग र समर्थन रहेको हुन्छ। पछिल्लो समय बिस्तारै महिला घरको भान्सादेखि खुला आकाशको यात्रा गर्दै छन्। यसैले महिला विकासको सन्दर्भमा नवपुस्ताको सकारात्मक भूमिका र पुराना पुस्ताको उदारताको खाँचो देखिएको छ। हाम्रो सामाजिक भूमिकामा पनि परिवर्तन गर्न जरुरी छ। ‘जहाँ नारीको सम्मान गरिन्छ, त्यहाँ ईश्वरको बास हुन्छ’ भन्ने वाक्यांशलाई आत्मसात् गरी राष्ट्रको उत्थानमा सहयोग पु¥याउन आवश्यक छ।
सुधार आफैँबाट सुरु गरिनुपर्छ। महिलामाथि हुने शोषण अन्त्य, समतामूलक समाज निर्माण, समाजमा रहेको कुरीति अन्त्य, चेतनशील समाज निर्माण गर्न सामाजिक असमानता अन्त्य गरी समयसापेक्ष सामाजिक रूपान्तरण, महिलाको विकास गर्न सुधारको अभियान घर, समाज, गाउँ, जिल्ला, प्रदेश र केन्द्र सबै तहबाटै सुरु गरिनुपर्छ। त्यसपछि राज्य तहबाट कर्तव्य, जिम्मेवारी तथा साधनस्रोतको व्यवस्था गरी मूल प्रवाहीकरण गरिनुपर्छ। महिलाले पनि आफूलाई कमजोर होइन, बलियो साबित गरिनुपर्छ। ग्रामीण महिलालाई सशक्तीकरण गर्दै विकासको मूल प्रवाहमा समाहित गर्दै महिला विकासका लागि विभिन्न अवधारणा अवलम्बन गर्न जरुरी छ। लैङ्गिक समानता, महिला सशक्तीकरण र लैङ्गिक मूलप्रवाहीकरणलाई केन्द्रित गरी सरकारले विभिन्न नीति तथा कार्यक्रम अघि बढाउनुपर्छ।
सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, प्रशासनिक, आर्थिक दृष्टिमा अझ पनि महिलाको अवस्था तुलनात्मक रूपमा पुरुषभन्दा कमजोर नै छ। त्यसैले ग्रामीण महिलाको सम्मानित जीवनयापनको वातावरण सुनिश्चित गर्ने, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा र शोषण अन्त्य गर्ने, आर्थिक समृद्धि र दिगो विकासका लागि महिलाको समान अग्रसरता नेतृत्वदायी भूमिका स्थापित गर्दै स्रोतसाधन, अवसर र लाभमा ग्रामीण महिलाको समान पहुँच स्थापित गरिनुपर्छ।
लेखक सामाजिक अभियन्ता हुनुहुन्छ।