• १३ असोज २०८१, आइतबार

अवैध उपचार केन्द्र छ्यापछ्याप्ती

blog

दमक समाचारदाता 

दमक, चैत १८ गते । झापाको भारतीय सीमा क्षेत्र तथा दक्षिणका विभिन्न पालिकामा अवैध रूपमा खुलेका आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ। 

भ्रामक प्रचारप्रसार गरेर बिरामीमाथि ठगी गरिरहेको र वैधानिक रूपमा खुलेका आयुर्वेद उपचार केन्द्र धराशायी बनेको भन्दै यस्तो माग गरिएको हो।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज र नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ झापाले जिल्ला प्रशासन कार्यालय झापालाई लिखित रूपमा नै भारतीय आएर अवैध रूपमा आयुर्वेद उपचार केन्द्र सञ्चालन गरेको, दीर्घकालीन रोगहरू चाँडो निको हुने भन्दै विभिन्न औषधि बेच्दै हिँडेको भन्दै यस्तो रोक्न माग गरेका छन्।

संसारकै सबैभन्दा पुरानो र नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको फाइदा उठाउँदै अवैध काम भइरहेकाले रोक्न माग गरेका हौँ, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज झापाका अध्यक्ष गोपाल सुवेदीले बताउनुभयो।

झापाका साहयक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाललाई ज्ञापनपत्र बुझाउँदै जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (२) मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने कानुनी व्यवस्थाको कार्यान्वयन गर्न माग गरिएको छ।

उहाँका अनुसार भारतीयले खुला सीमाको फाइदा उठाएर आयुर्वेदको नाममा खुलेआम अवैधानिक रूपमा खोलेका आयुर्वेद उपचार केन्द्रमा ग्यारेन्टीका साथ उपचार निको नभए पैसा फिर्ता भनी जताततै प्रचार गरिएको छ। नेपाली एजेन्टलाई प्रति बिरामी कमिसन दिई बिरामीलाई अनेक प्रलोभनमा पारेर चर्को रकम असुली गरिएको छ। झोलामा अप्रमाणित औषधि बोकेर गाउँगाउँमा गई बिरामीलाई ठगी रकम असुली भएपछि फरार हुने जस्ता कार्य भइरहेको लिखित रूपमा जानकारी गराइएको छ।

भ्रामक प्रचारप्रसार तथा अवैध औषधिको खुलेआम बेचबिखनको कारण झापा जिल्लामा लाखौँ रकम लगानी गरेर नेपाल सरकारको स्वीकृति लिई सञ्चालनमा रहेका आयुर्वेद अस्पताल, क्लिनिक सेन्टर, आयुर्वेद औषधिका खुद्रा तथा थोक व्यवसायीहरू धराशायी बनेको र लगानी डुब्ने अवस्थामा रहेको छ, नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ झापाकी अध्यक्ष नर्वदा भट्टराईले बताउनुभयो।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले यस विषयमा प्रशासनको ध्यानाकर्षण भएको बताउँदै अवैध रूपमा हुने काम तत्कालै रोक्नका लागि आवश्यक पहल गरिने जनाउनुभयो।