• १३ असोज २०८१, आइतबार

नौ वर्षमै जीर्ण शिक्षाको भवन

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङस्थित शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय जीर्ण बन्दै गएको छ। बजेट अभावका कारण समयमा मर्मत सम्भार गर्न नसक्दा एकाइ कार्यालय भवन जीर्ण बन्दै गएको हो।

जीर्ण बन्दै गइरहेको असुरक्षित कार्यालय भवनबाट नै सेवा प्रवाह भने गरिँदै आएको छ। हालसम्म भवन मर्मत गर्ने बजेट व्यवस्थापन नहुँदा दिनदिनै भवन थप जीर्ण बनिरहेको एकाइ प्रमुख योगेश्वर भट्टराईले बताउनुभयो। भट्टराईका अनुसार कार्यालय भवनको रङ गइसकेको छ भने अधिकांश झ्यालका काठ (चौकोस) मक्किएका छन्।

उहाँले जीर्ण बनिरहेको भवनको मर्मत गर्नका लागि केन्द्रलगायतका निकायसँग बजेट माग गर्दासमेत अहिलेसम्म कहीँबाट पनि बजेट नपाएको बताउनुभयो। हालसम्म जीर्ण भएको संरचनाको मर्मत कार्य गर्नका लागि लागत अनुमान करिब ११ लाख रुपियाँ बढी रहेको उहाँले जानकारी दिनुभयो। लागत अनुमानअनुसार प्रस्ताव गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा यसअघि नै बजेट माग गरिएको भए पनि हालसम्म सुनुवाइ नभएको उहाँको भनाइ छ।

यस्तै ताप्लेजुङमा शिक्षा क्षेत्रमा काम गर्दै आएको हुमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) नामक संस्थासँग समेत बजेटका लागि प्रस्ताव राखेको एकाइ प्रमुख भट्टराईले बताउनुभयो। यसरी एकाइले भवन मर्मतका लागि बजेट माग गरिहेको भए पनि हालसम्म कतैबाट सुनुवाइ भएको छैन। अझ भवन मर्मत सम्भारको कार्य गर्नलाई ढिलाई हुँदै गएमा कार्यालय सञ्चालन नै गर्न नमिल्ने अवस्था आउन सक्ने भट्टराईले चिन्ता व्यक्त गर्नुभयो।

विगतमा जिल्ला शिक्षा कार्यालय रहँदा सधै भिडभाड हुने गरेकोमा हाल शिक्षा विकास तथा समन्वय एकाइ भएपछि सुनसानजस्तै बनेको छ। पहिलेजस्तो भूमिका पनि नभएको साथै कर्मचारी जनशक्तिसमेत अत्यन्तै न्यून रहेकाले एकाइ कार्यालय हरेक हिसाबले ओझेलमा परेको कतिपयले बताउने गरेका छन्। अहिले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार भए पनि न्यून भूमिकाकै कारण यसतर्फ कुनै पनि तहको दृष्टि नपरेको उनीहरूको बुझाइ रहेको छ।

सदरमुकाम फुङ्लिङमा रहेको एकाइ भवन २०७० सालमा निर्माण गरिएको हो। निरन्तर जीर्ण बन्दै गएको चार तले पक्की भवनमा करिब डेढ दर्जन कोठा रहेका छन्। यता पहिले शिक्षा कार्यालयको जस्तो भुमिका नभए पनि राज्यको सम्पत्ति भएकाले मर्मत सम्भारसहित एकाइ भवन संरक्षणमा सरकारले चासो दिनुपर्ने शिक्षक नेतृत्व मदनकृष्ण दाहालको भनाइ छ।