• ८ मंसिर २०८१, शनिबार

निःशुल्क टेलिमेडिसिन सेवा

blog

वैश्विक तथा आन्तरिक कारणले मुलुुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थाबाटै गुज्रिरहेको छ । कतिपयका विचारमा नेपालको आर्थिक अवस्था विगतको श्रीलङ्का जस्तै डामाडोलपूर्ण आर्थिक अवस्था हुन सक्ने आशङ्का पनि व्यक्त गरिएकै हुन् । विभिन्न कारणले मुलुक तथा मुलुकवासीले श्रीलङ्काको जस्तो विषम आर्थिक अवस्था भोग्नुपर्ने स्थिति आएन र सहज रूपमा मुलुकको अर्थतन्त्र अगाडि बढिरहेको भन्न सकिन्छ । यसो हुनुमा वैदेशिक रोजगारीमा कार्यरत लाखौँ नेपालीले पठाउने विप्रेषण ( रेमिट्यान्स) पनि एक प्रमुख कारण मान्न सकिन्छ । रेमिट्यान्सको सन्तुलित प्रवाहसँगै मुलुकको अर्थतन्त्र सम्हालिएर अगाडि बढिरहेको छ । यो समग्रमा खुसी तथा सन्तोषको विषय हो । 

मुलुकको अर्थतन्त्रलाई यस्तो सङ्कटपूर्ण स्थितिबाट पार लगाउन महत्त्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगारीमा जाने श्रमिकका हितका निम्ति राज्य तथा सरकारले केही सकारात्मक नीति अख्तियार गरिरहेको छ । ती नीतिहरूको प्रभावकारी कार्यान्वयन गरिनु महत्त्वपूर्ण कर्तव्य हुन आउँछ । यस विषयमा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई विविध किसिमका सुविधा उपलब्ध गराउनु राज्यको प्राथमिकता हो भने यस्ता सुविधा प्राप्त गर्नुु श्रमिकको अधिकारको विषय मान्न सकिन्छ । यसै सन्दर्भमा राज्यले वैदेशिक रोजगारीमा गएका श्रमिकप्रति आफ्नो दायित्व तथा जिम्मेवारीको महसुस गर्दै सरकारले दुई दिनअघि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवाको प्रारम्भ गरेको छ । देशका सरकारी कार्यालय समयमा सञ्चालन हुने यस्तो सेवामा चिकित्सकले श्रमिकहरूको स्वास्थ्य समस्या समाधानका लागि सल्लाह तथा परामर्श दिनेछन् । सरकारी निकाय वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको स्वस्थ्य समस्यामा निःशुल्क परामर्श तथा सुझाव दिने उद्देश्य राखेर प्रारम्भ गरिएको यो सेवा निश्चित रूपमा श्रमिकको हितमा रहेको छ ।

 विदेशमा भाषागत, आर्थिक वा अन्य कारणले श्रमिकले उचित स्वास्थ्य सेवा नपाउने सुविधा हुन सक्छ । यस अवस्थामा आफ्नै देशका चिकित्सक तथा आफ्नै भाषामा ह्वाट्स अप, भाइबर तथा मेसेन्जरबाट स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको यस कदमलाई दायित्वबोध कार्यान्वयनका दिशामा लिन सकिन्छ । यसबाट श्रमिकलाई स्वास्थ्य समाधानमा मितव्ययी हुनुका साथै निकै सहज र सरल हुनेमा शङ्का छैन । वैदेशिक रोजगारीमा गएका श्रमिकलाई प्रदान गरिने यो टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृति भएसँगै सञ्चालन हुन थालेको छ । यस्तो सेवा असाध्य महत्त्वपूर्ण र श्रमिकको भलाइमा छ । सेवाको दिगोपनले श्रमिकको दीर्घकालीन हित संवद्र्धन हुनेछ । नेपालमा कतिपय राम्रा सेवा सञ्चालन भएका छन् तथापि तिनीहरूले लामो समयसम्म निरन्तरता पाउन नसकेका थुप्रै उदाहरण छन् । यस अर्थमा सरकारले कार्यविधि नै स्वीकृत गरेर यो सेवा सञ्चालन गर्नुलाई सेवाप्रतिको गम्भीरताका रूपमा समेत उल्लेख गर्न सकिन्छ । 

पहिलो पटक राज्यको अग्रसरतामा सुरु हुन थालेको यस सेवाबाट श्रमिकलाई सेवा, परामर्श, सल्लाह उपलब्ध गराइने भएकाले श्रमिकको स्वास्थ्य समस्या समाधानमा निकै महत्त्वपूर्ण प्रयास हुने मान्न सकिन्छ । यति मात्र होइन, यो सुविधाअन्तर्गत विशेषज्ञ सेवा आवश्यक परेका श्रमिकका निम्ति शुक्रबार तथा आइतबारका दिन तोकिएको छ । यो व्यवस्थाले श्रमिकलाई अझ गुणस्तरीय विशेषज्ञ सेवा पाउनेमा विश्वस्त हुने वातावरण तयार भएको छ । अधिकांश विदेशी मुलुकमा शुक्रबार तथा आइतबार बिदा हुने र श्रमिकको व्यस्तता कम हुने भएकाले पनि ती दिनको छनोट गर्नु सरकारको सराहनीय कामका रूपमा लिन सकिन्छ । सामान्य स्वास्थ्य जानकारी नहुँदासम्म पनि विदेशमा कैयौँ नेपाली श्रमिकले ज्यानै गुमाएका उदाहरण पनि छन् । सरकारको यस सेवाबाट कम्तीमा यो समस्याबाट पार पाउन नेपाली श्रमिकलाई निकै सघाउ पुग्ने तथ्यमा विश्वस्त हुन सकिन्छ ।

 सरकारको नयाँ कदमबाट वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले उपयुक्त समयमा स्वास्थ्य सेवा प्राप्त गरेर ज्यानै गुमाउनुपर्ने नियतिबाट गुज्रिनुपर्ने छैन । यो नेपाली वैदेशिक क्षेत्रका निम्ति एक ठूलो उपलब्धिका रूपमा लिन सकिन्छ । सरकारको टेलिमेडिसिन सेवालाई वैदेशिक रोजगारीमा गएका श्रमिकप्रतिको सामान्य दायित्व पूरा गरेको अवस्थालाई बुझ्नु आवश्यक छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका वैदेशिक रोजागरीका श्रमिकका अन्य आवश्यकता तथा मागलाई पनि सरोकारवालाले क्रमबद्ध तवरले पूर्ण गर्नु जरुरी देखिन्छ । देशका प्रमुख आय विप्रेषणमा निर्भर हुँदै गएको अहिलेको अवस्थामा वैदेशिक रोजगारीमा गएका श्रमिकका हितका निम्ति गरिने कार्यको बहुआयामिक महत्त्व छ । यसको प्रभावकारी कार्यान्वयन वाञ्छनीय छ ।