• १३ असोज २०८१, आइतबार

मन्त्री पदबाट राजीनामा दिन आग्रह

blog

निर्मला तावा लिम्बू

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १६ गते। जनता समाजवादी पार्टी नेपाल ताप्लेजुङले आफ्नो पार्टीको तर्फबाट कोशी प्रदेशको मन्त्री बन्नुभएकी निर्मला तावा लिम्बूलाई राजीनामा दिन आग्रह गरेको छ। प्रदेश नामाकरणविरुद्ध पहिचानवादी आन्दोलन चर्किरहेको समयमा आन्दोलनलाई सहयोग पुर्‍याउन मन्त्री पदबाट राजीनामा दिन लिम्बूलाई आग्रह गरिएको हो।

जसपा नेपालका जिल्ला अध्यक्ष कीर्तिमान मादेनले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै कोशी नामाकरणविरुद्धको आन्दोलनलाई ऊर्जा थप्न साथै पहिचानवादीको मनोबल उच्च बनाउनमा सहयोग गर्न पदबाट राजीनामा दिन आग्रह गर्नुभएको हो। जसपा नेपालकी राजीतिक समिति सदस्य तथा प्रदेश सह–इन्चार्जसमेत रहनुभएकी तावा लिम्बू कोशी प्रदेशको स्वास्थ्य मन्त्री रहनुभएको छ।

प्रदेशको कोशी नामाकरण गर्दा विपक्षमा हस्ताक्षर नगरेको, नामाकरणविरुद्ध आन्दोलनमा पदम लिम्बू (लाजेहाङ) को मृत्यु हुँदासमेत मन्त्री पदबाट राजीनामा नदिनुले सिङ्गो पार्टीमाथि नै प्रश्न चिह्न खडा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै पार्टी र पहिचानको सवालमा प्रश्न खडा भएको अवस्थामा जसपाका इमान्दार पहिचानवादी नेता कार्यकर्ताको शीर नै निहुरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

यसबेला पार्टीको मुद्दा र आम नेता तथा कार्यकर्ताको राजनीतिक भविश्य बचाउन तत्काल पदबाट राजीनाम दिई सक्कली पहिचानवादी बन्न विज्ञप्तिमार्फत मन्त्री लिम्बूलाई आग्रह गरिएको छ। आफ्नै सांसद मन्त्री पदमा रहिरहनु र त्यही सरकारको विरुद्धमा पार्टी आन्दोलनमा उत्रनुले लज्जा बोधसँगै पहिचान पक्षधर सहयात्रीको प्रश्न तथा प्रतिप्रश्नप्रति नाजवाफ हुनुपरेको जिल्ला अध्यक्ष मादेनले बताउनुभयो। 

यसैबीच बिहीबार नै वक्तव्य जारी गर्दै जिल्लास्थित खस जाति एकता समाज, नेकपा निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले कोशीमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। वक्तव्यमार्फत कोशी नामाकरण खारेज गरी प्रदेशको पुनः नामाकरण गर्नुपर्ने, लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्नेलगायत माग पनि राखिएको छ।