• २४ पुस २०८१, बुधबार

‘मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्’

blog

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्ट ।

काठमाडौं, चैत १६ गते । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै सदस्य भट्टले  मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले सरकार गम्भीर नबन्दा मिटरब्याजीको हौसला बढेको र पीडित आफ्नो पीडा दबाएर बस्न बाध्य भएको औँल्याउनुभयो ।

भट्टले वार्ता टोली गठन गरेर झारो मात्र नटार्न सरकारलाई आग्रह गर्नुभयो । समस्या समाधानको ठोस निर्णय गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले बोल्न पाउने जनताको अधिकारलाई बेवास्ता गर्दै जनताको मुख थुनिएको भन्दै राणा शासन र राजतन्त्रको अवशेष बाँकी रहेको टिप्पणी गर्नुभयो । उहाँले विरोध गर्नेहरूको आवाजलाई दबाइएको भन्दै गणतन्त्र यही हो भनी प्रश्न समेत गर्नुभयो ।

‘‘गणतन्त्र ल्यायौँ । बोल्ने, विरोध गर्ने अधिकार पनि पायौँ तर होइन रहेछ । यता त अहिले पनि राणा शासन र राजतन्त्रको अवशेष बाँकी नै रहेछ । केही दिन अगाडिको घटनाले त यही दर्साउँछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यहाँ विरोध गर्दा मुख थुनिन्छ । मुख चिथोरिन्छ । विरोधको आवाज दबाइन्छ । के यही हो त जनताले सहादत दिएर आफ्नो गणतन्त्र ल्याएको ? सोचौँ । विरोधीको पनि कुरा सुनौँ । यो प्रजातन्त्रमा हरेकलाई आफ्ना कुरा भन्न र विरोध गर्ने अधिकार छ । अधिकारको सम्मान गरौँ ।’’ उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।