• ९ पुस २०८१, मङ्गलबार

माटोका छाना हटेको छिप्रा बस्ती

blog

एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित भएका छिप्रा बस्ती । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, चैत १६ गते । खार्पुनाथ गाउँपालिका –४ को छिप्रा बस्तीमा माटोका छाना विस्थापित भएको छ । एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयस्रोत भएका घरधुरीको जस्तापाता छाएको घर निर्माण गरेपछि उक्त गाउँको स्वरूप नै फेरिएको हो । 

कार्यक्रमबाट नयाँ घर निर्माण गरेर सर्नु भएका दानसिंह रावलले माटोको छाना छाएको घरमा बस्नु पर्ने बाध्यताबाट छुटकारा मिलेको बताउनुभयो । यसबाट उहाँले बर्खा याममा पानी पर्दा घर चुहिने समस्या र हिउँदमा माटोले छापेको घरमा जमेको हिउँ फाल्ने कार्यबाट मुक्ति मिलेको बताउनुभयो । सात महिनामा उहाँले दुई तले छ कोठे जस्तापाता छाएको घर शौचालय निर्माण गरेर सर्नु भएको हो । सोही गाउँका अर्का एकीकृत बस्ती विकास कार्यक्रमबाट नयाँ घर निर्माण गर्नु भएका जगत सिंहले जस्तापाता छाएको घर आफूले कहिल्यै निर्माण गर्न सक्ने अवस्था नरहेको बताउँदै गाउँ गाउँमा सरकार पुग्दा नयाँ जस्तापाता छाएको घर निर्माण सम्भव भएको बताउनुभयो । उहाँले केही आफ्नो लगानी थपेर दुई तले छ कोठे भवन निर्माण गर्नु भएको छ ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले वडाका न्यून आयस्रोत भएका पचास घरधुरी छनौट गरेर कार्यक्रमले घर निर्माण गर्ने कार्यमा सहयोग गरेको बताउनुभयो । छिप्रा बस्तीमा एक सय घरधुरी रहेका छन् । ती मध्य आर्थिक रूपमा  सबल घरधुरीले आफैले जस्ता छाएको घर निर्माण गर्नु भएको छ । 

अध्यक्ष रावलले कार्यक्रमबाट प्रत्येक घर निर्माण गर्न आठ लाख ९५ हजार रुपियाँ अनुदान दिएका घर घरधनी आफैले घर निर्माण गरेको बताउनुभयो । कार्यक्रमले पचास घर निर्माण गरेको र ती सबै घर निर्माण कार्य पुरा भएर स्थानीय बसी सक्नु भएको छ । जम्मा निर्माण गरिएका घरका लागि कार्यक्रमले चार करोड ४७ लाख पचास हजार रुपियाँ लगानी गरेको छ । केहीले तीन कोठे एक तले र केहीले आफूले बजेट थपेर छ कोठे दुई तले भवन निर्माण गर्नु भएको छ । उहाँले छिप्रा बस्तीको केहीले आफ्नै लगानी र पचास घरधुरीलाई कार्यक्रमले अनुदान दिएर घर निर्माण गर्दा स्वरूप नै परिवर्तन आएको बताउनुभयो । 

पहिले अव्यवस्थित शौचालय भएकोमा अब भने नयाँ निर्माण भवनसँगै शौचालय समेत निर्माण भएको कारण सरसफाइ पनि त्यतिकै देखिने गरेको छ । खानेपानीको सुविधा समेत यसअघि नै पुगी सकेको छ । उहाँले यसबाट सर्वसाधारणले सुरक्षित आवासमा बस्न पाएको र अब बाँकी घरधुरीको घर निर्माणका लागि कार्यक्रमसँग पहल भई रहेको बताउनुभयो ।