• १३ असोज २०८१, आइतबार

बजेट अभावमा अलपत्र आधुनिक वधशाला

blog

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक बधशाला । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, चैत १५ गते । 
मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक वधशाला (पशु काट्ने घर) निर्माण भइसके पनि उपकरणको अभावमा प्रयोगमा आउन सकेको छैन ।

कोशी प्रदेश सरकारको पशुपक्षी निर्देशनालयको पशु बधस्थल निर्माण सुधार कार्यक्रमअन्तर्गत नगरको १ नम्बर वडामा वधशाला निर्माण गरिएको थियो । पशुबद्ध गर्ने घर निर्माण भएको दुई वर्ष बित्नै लाग्दा प्रयोगमा आउन सकेको छैन ।

नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले वधशाला भित्र आवश्यक पर्ने उपकरण खरिद गर्ने बजेट अभाव हुँदा काम रोकिएको बताउनुभयो । पथरी बजारको गोसलाइनमा निर्माण भएको वधशाला निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ अनुदान दिएको थियो । छिमेकी नगरपालिकाको साझेदारीसहित कूल ७५ लाख १४ हजार ४५१ रुपियाँमा लागतमा वधशाला निर्माण गर्ने योजना बनेको थियो । तर निर्माण कम्पनी मादी आरकेडा कन्स्ट्रक्सन इटहरीले ५० लाख ९३ हजार ५७९ रुपियाँमा वधशाला (घर) निर्माण गरेर नगरलाई जिम्मा लगाइसकेको छ ।

बधस्थलमा दैनिक ठूला पाँच वटा र साना १२ वटासम्म पशुवध गर्न र प्रशोधन गर्न सकिने छ । वडा नं.१ का वडाध्यक्ष भीमकुमार राईले भन्नुभयो, ‘‘वधशालामा भित्र पशुको स्वास्थ्य परीक्षण, वध गरेपछि प्रशोधन, फ्रिजिङ गर्ने लगायतका सुविधा हुनेछन् ।’’

उहाँले भित्रका प्राविधिक उपकरण जडानका लागि अझै १०/११ रुपियाँ आवश्यक पर्ने बताउनुभयो । स्थानीय मासु व्यापारीहरूसँगको सहकार्यमा भित्रको प्राविधिक काम सक्ने र चाँडै वधशाला प्रयोगमा ल्याउने उहाँको भनाइ छ । तर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले प्रदेशको आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेट नपठाउँदा वधशाला सञ्चालनमा ल्याउन नसकिएको बताउनु भयो ।

खरेलले भन्नुभयो, ‘‘नगरले निर्णय गरेर आफ्नै खर्चमा पनि उपकरण गर्न सक्छ । स्रोतको अभावका कारण नगरले तत्काल लगानी गर्न सक्ने अवस्था छैन ।’’ प्रदेशको आयोजनामा नगरले बेवास्ता गर्दा दुई वर्ष अघि निर्माण सम्पन्न वधशालाका झ्यालका सिसा फुट्न थालेका छन् भने ग्रील भत्किएको छ छ । त्यस्तै, सटरमा तीनपत्र खिया लागेको छ ।  

पथरीबजारमा खुला रूपमा खसी, बोका, सुँगुर/बङ्गुर, राँगा/भैँसी काट्ने गरिन्छ । मासु व्यवसायीहरूका अनुसार पथरी बजारमा दैनिक सुँगुर, राँगा ३/३ वटा र खसी, बोका ६/७ वटा वध हुने गरेको छ ।