काठमाडौं, चैत १५ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बालबालिकाका क्षेत्रमा लगानी गर्नु भनेको देशको समृद्धि चाहनु रहेको बताउनुभएको छ ।
गुड नेर्वस इन्टरनेशनल नेपालले नेपालमा कार्य सुरु गरेको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपाल कोरोना कहरबाट पीडित भएको अवस्थामा विभिन्न विकासका साझेदार तथा गैर सरकारी सङ्घसंस्थाहरूले जीवन रक्षाका लागि सहयोग प्रदान गरेकोमा धन्यवाद दिनुभएको छ ।
उहाँले गुड नेवर्स इन्टरनेशनल नेपालले विगत दुई दशकसम्म नेपालका विपन्न र सीमान्तकृत समुदाय तथा बालबालिकाको विकास र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई प्रशंसा गर्नुभयो ।
सो अवसरमा आयोजित कार्यक्रममा समग्र नेपाली बालबालिकाको तर्फबाट श्रेया अधिकारीले गुड नेवर्स इन्टरनेशनलको सहयोगका कारण धेरै नेपाली बालबालिकाले शिक्षा, स्वास्थ्य, संरक्षणका सवालमा पुर्याएको योगदान स्वरूप नै आज म जस्ता थुप्रै बालबालिका, किशोर किशोरीको जीवनमा सकारात्मक परिवर्तन भएको कुरा बताउनुभयो ।
नागरिक संघसङ्गठनका तर्फबाट किडार्कका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले सहायता र विकासका लागि कार्यरत समाजमा रहेका विविध समस्यामा परेका, उपेक्षित, पिछडिएका तथा सीमान्तकृत वर्गका व्यक्तिहरूको जीवन स्तर उकास्नका निम्ति साझेदार संस्थाहरू मार्फत सहयोग प्रदान गर्दै आइरहेको कुरा बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त रावतले विकासका साझेदार संस्थाले नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिबद्धताहरूलाई पूरा गर्न साथ र सहयोग गरिरहेको बताउनुभयो । तर नेपाल सरकारको नीति, कार्यक्रमहरूलाई कार्यान्वयन गर्न पुर्याएको योगदानका विषयमा समीक्षा गर्दै अगाडि बढ्न जरुरी रहेको बताउँदै संस्थाको कामको प्रशंसा गर्नुभयो ।
नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क चोङ सुकले नेपालका २२ जिल्लाका गरिब र सीमान्तकृत वर्गका बालबालिकाको सुनौलो भविष्यका लागि गुड नेर्वस इन्टरनेशनलले नेपालका नागरिक संघसङ्गठनहरुसँग हातेमालो गर्दै काम गर्दै आइरहेकोमा धन्यवाद र आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरी, समाज कल्याण परिषद्का सदस्य–सचिव मनोज भट्टले गुड नेवर्स इन्टरनेशनलले स्थापना कालदेखि नै समाज कल्याण परिषद्सँग स्वीकृति लिएर नेपाली बालबालिका र समुदायका जीवनमा सकारात्मक परिवर्तनका लागि काम गर्दै आइरहेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलका देशीय निर्देशक जे क्युङ रोले यस संस्थाले सफलतापूर्वक २० वसन्त पार गरेको उपलक्ष्यमा आयोजित वार्षिकोत्सव कार्यक्रमका स्वागत मन्तव्य राख्नुहुँदै संस्थाले बालबालिकाको जीवनस्तर सुधार गर्न सीमान्तकृत, सङ्कटाभिमुख समुदाय र विपन्न परिवारका बालबालिका लक्षित गरी २२ जिल्लाका ४३ हजारभन्दा बढी बालबालिका, उनीहरूको परिवार र समुदायको जीवन स्तर सुधार गर्न, बाल संरक्षण, शिक्षा, स्वास्थ्य, आयआर्जन, खानेपानी, सरसफाइ तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र पैरवी जस्ता क्षेत्रहरूमा कार्यरत रही कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको कुरा व्यक्त गर्नुहुँदै सबैको साथ र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनलले विगत २० वर्षको यात्रामा नेपाली बालबालिकाको जीवनको सकारात्मक परिवर्तनका निम्ति खेलेको भूमिकासँग सम्बन्धित रहेर किटिनी माध्यमिक विद्यालय गोदावरी ललितपुरका किशोर किशोरीले सचेतनात्मक जागरणमुखी नाटक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कूटनीतिक नियोग, सरकारी तथा गैर सरकारी निकाय, नागरिक सङ्घसंस्था, विकासका साझेदार, निजी तथा सहकारी संस्था, लाभान्वित वर्ग, सञ्चारकर्मी लगायत दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।