• ८ मंसिर २०८१, शनिबार

धेरै कुरा बिर्सन थालेको छु अचेल

blog

क्यालेन्डरको मुलायम पातो त पल्टाउनै बिर्सन्छु

र, बनाउँछु कार्ययोजना बितेको महिनाकै दिनहरू हेरेर 

अहँ, केही पनि मिल्दैन÷मिल्दै–मिल्दैन

न मिल्छ गते, न मिल्छ बार, न तिथिमितिहरू नै, 

हुन्छन् सबै गडबड । 


बिर्सन थालेको छु अचेल प्रेमिकाहरूका नामसमेत

सम्झिन धेरै अभ्यास गर्नुपर्छ–

वसन्तको उल्लसित दिनमा हो वा 

हेमन्तका उदास दिनहरूमा

कसैले मेरो हातमा राखिदिएकी थिइन्– 

एउटा रङ्गीचङ्गी रुमाल,

जसलाई मैले धेरै वर्षसम्म आफ्नै खल्तीमा 

सजाएको थिएँ स्नेहपूर्वक,

कुनै मौसममा दिएकी थिइन् कसैले 

बेगनबेलीको काँडेदार फूल, 

जो ओइलाउन पुगेको थियो केही क्षणपछि नै

अहँ, सम्झिन्नँ अचेल प्रेमिकाहरूका नाम, 

वतन र अनुहारसमेत ।


कहिले बिर्सन्छु– नियमित औषधि सेवन

बिर्सन्छु कहिले– अनुलोम–विलोम र कपालभाँती– कार्य

कहिले बिर्सन्छु– जुत्ताको तुना नै बाँध्न

के–के बिर्सन्छु, बिर्सन्छु– गणना गरेरै सक्दिनँ अचेल । 


धेरै बिर्सन थालेको छु अचेल ।


जङ्गललाई अझै हरियाली बनाउने योजना थियो 

आकाशलाई अझै बनाउने लक्ष्य थियो–

नीलो र उदात्त,

बनाउन चाहन्थेँ नदीलाई अझै शान्त, धेरै शान्त

बगैँचालाई बनाउन चाहन्थेँ हजारौँ रङ्गीन 

पुतलीहरूका क्रीडास्थल

ऐंठन पस्केर हरेक निद्रा बिथोल्ने सपनालाई 

बनाउन चाहन्थे पूरै जिम्मेवार ।


बिर्सन थालेको छु यी सबै योजना÷सपनाहरू...

अचेल-केवल अचेल ।