• १३ साउन २०८१, आइतबार

हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

blog

काठमाडौँ, चैत १४ गते । नबिल बैङ्कले हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२२ मा बैङ्कले गरेको लगानीमा सञ्चालित उद्यम, व्यवसाय र पूर्वाधार निर्माणले गरेको हरितगृह ग्यास उत्सर्जनबारे प्रतिवेदनमा उल्लेख छ । बैङ्कको लगानीको परियोजनाबाट सन् २०२२ मा ८० हजार ६७१ दशमलव ३७ टन बराबरको कार्बनडाइअक्साइड उत्सर्जन भएको सो प्रतिवेदनमा उल्लेख छ । यसैगरी जलविद्युत् र सौर्य ऊर्जामा गरिएको लगानीबाट दुई हजार १३१ दशमलव ८१ टन बराबरको कार्बन उत्सर्जन कम गरिएको छ ।

“यद्यपि यो ठूलो परिमाण भए पनि हामी कार्बन उत्सर्जन अझै घटाउने दिशामा सक्रिय छौँ,” नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भन्नुभएको छ । नबिल बैङ्कले सन् २०२१ मा ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’मा हस्ताक्षर गरेको छ । सो सम्झौताबमोजिम बैङ्कले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । यस प्रकारको प्रतिवेदन सार्वजनिक गर्ने नबिल बैङ्क नेपालको पहिलो निजी क्षेत्रको बैङ्क भएको जनाइएको छ ।