• १३ साउन २०८१, आइतबार

सूचना प्रविधिको दक्षतापूर्ण उपयोग आवश्यक

blog

काठमाडौँ, चैत १४ गते । सूचना प्रविधिको उपयोगमार्फत अर्थतन्त्रको उत्थान हुने गरी सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार गर्न जरुरी रहेको सरोकारवालाले औँल्याएका  छन् । 

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले सोमबार राजधानीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरूले नवीनतम प्रविधिको उपयोग विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था, बजेट र जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिन आवश्यक रहेको औँल्याउनुभएको हो । 

नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनालले नेपालले पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा व्यापक फड्को मारिसकेको बताउँदै प्राविधिक उपलब्धिलाई सही ढङ्गले सदुपयोग गर्न नसक्दा सार्वजनिक सेवा प्रवाह अझै चुस्त बन्न नसकेको औँल्याउनुभयो । 

“नेपालमा उपलब्ध प्राविधिक क्षमतालाई दक्षतापूर्ण र औचित्यपूर्ण प्रयोग गर्न सक्ने हो भने सार्वजनिक सेवा प्रवाह अझै व्यवस्थित र सहज बन्ने थियो । सार्वजनिक निकायमा त्यस्ता प्रविधि र प्रणालीलाई प्रगतिशील ढङ्गले प्रयोग गर्ने सोच र क्षमता नहुँदा जनताले त्यसको पूर्ण लाभ लिन पाएका छैनन्,” उहाँले भन्नुभयो । पछिल्लो समय सूचना प्रविधिको उपलब्धताले आर्थिक तथा व्यावसायिक गतिविधिलाई सहज र पारदर्शी बनाएको तर त्यो पारदर्शिताको लाभ राजस्व प्रशासनले लिन नसकिरहेको दृष्टान्त उहाँले पेस गर्नुभयो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यातायात क्षेत्रलाई व्यवस्थित गर्न र सेवाग्राहीले भौतिक उपस्थितिबिना नै सेवा पाउने अवस्था बन्दै गरेको दाबी गर्नुभयो । “हामीले अहिले सवारी नवीकरण, लाइसेन्स वितरण तथा नवीकरणजस्ता सेवालाई सूचना प्रविधिमैत्री बनाएर क्रमिक रूपमा सहज बनाउँदै लगेका छौँ,” उहाँले भन्नुभयो ।  

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले अर्थतन्त्र र सेवा प्रवाहलाई रूपान्तरण गर्ने गरी सरकारले विभिन्न कार्यक्रम तथा योजना कार्यान्वयनमा ल्याएको र त्यसका परिणाम पनि क्रमिक रूपमा समाजमा देखा परेको बताउनुभएको थियो । सूचना प्रविधि विकास कम्पनी इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत डा. राजीव सुब्बाले राज्यले सूचना प्रविधि क्षेत्रको विकासमा निजी क्षेत्रसँगको साझेदारीलाई दिगो र निरन्तर बनाउँदै लैजानुपर्ने बताउनुभयो ।