ती चराहरू
जो कावा खाँदै
उडिरहेका थिए
उन्मुक्त आकाशमा
निस्तब्धतालाई चिर्दै
स्पर्श गरिरहेका थिए– जीवन
जसको प्वाँख, पखेटा
चुच्चो, कण्ठमा
झल्किरहेका थिए
मात्र उन्मुक्तिका स्वर
एकाएक मनमनै सोधे
ती चराहरूलाई
कहाँ हो तिमीहरूको घर
कहाँ हो स्थायी ठेगाना
कुन हो तिमीहरूको देश
प्रत्युत्तरमा भुर्र उडे
चराहरू
मानौँ कि
उडेर जहाँ जहाँ पुग्छन्
जहाँ जहाँ बस्छन्
त्यही हो उनीहरूको
स्थायी ठेगाना, घर
त्यही अनन्त, विस्तिर्ण
आकाश हो–
उनीहरूको देश
जहाँ छैन–
कुनै सिमाना
कुनै पर्खाल
जहाँ छैन
लिसो, पासो
पिँजडा, हत्कडी, नेल
छैन, काँडेतारका बार
त्यही अथाह आकाश
जहाँ छैन कुनै बन्धन
लोभ, लालच, ईष्र्या
जहाँ सर्वत्र गुन्जिन्छ
प्रेम, समता, शान्ति
सद्भावका स्वर
जब सोधे, उनीहरूलाई
कुन हो, तिमीहरूको जात
कुन हो, तिमीहरूको धर्म
को हो, तिमीहरूको ईश्वर
प्रत्युत्तरमा वेग हानेर
उड्न थाले चराहरू
मानौँ कि सोधे उनीहरूलाई
भयाङ्कर र डरलाग्दो प्रश्न
बचेराहरूलाई सम्झिएर
मच्चाउन थाले, कोलाहल
मानव ! मानव !!
भाग ! भाग !!
त्राही ! त्राही !।