• ३१ वैशाख २०८२, बुधबार

‘एसईई परीक्षा प्रभावकारी बनाइने’

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, चैत १४ गते । मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले मधेशमा विगतभन्दा यस वर्षको एसईई परीक्षा सफल र प्रभावकारी बनाउने योजना रहेको बताउनुभयो।    

मधेश प्रदेश शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयद्वारा सोमबार जनकपुरधाममा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सुरक्षा निकायका प्रमुखसँगको  अन्तक्र्रियामा मन्त्री यादवले उक्त कुरा बताउनुभएको हो। प्रदेशको शिक्षा व्यवस्थालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले आगामी एसईई परीक्षा विगतभन्दा सफल बनाउने योजनामा प्रदेशका आठै जिल्लाका सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।  

शिक्षाको स्तर खस्किँदै जाँदा मधेशको शिक्षा देशमै बदनाम हुन पुगेको मन्त्री यादवको भनाइ छ। उहाँले भन्नुभयो, “शिक्षामा सुधार ल्याउन प्रदेश शिक्षा ऐन ल्याउने तयारी भइरहेको छ, प्रदेश सरकारको दोस्रो कार्यकालमा शिक्षामा उल्लेख्य सुधार हुन्छ।” 

प्रदेश सरकारको दोस्रो कार्यकालमा प्रदेशलाई साक्षर बनाउने योजनासमेत रहेको बताउँदै मन्त्री यादवले त्यसका लागि गृहकार्य पनि सुरु भइसकेको जानकारी दिनुभयो। उहाँले  भन्नुभयो, “प्रदेशलाई साक्षर बनाउन सीमान्तकृत समुदायलाई समेटेर कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ।” शिक्षा सुधारमा शिक्षक, कर्मचारीलाई प्रोत्साहन पनि गर्नुपर्नेमा उहाँको जोड थियो। उहाँले एसईईको निर्देशिका अनुसार काम भएनभएको जाँच गरी खटाइएका कर्मचारीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो। 

चैत १७ गतेदेखि हुने एसईई परीक्षालाई व्यवस्थित गर्न प्रदेश सरकारले बनाएको योजनामा स्थानीय सरकारलाई समेत जानकारी गराई परीक्षामा नियम विपरीत कार्य गर्नेलाई कारबाहीको समेत व्यवस्था गरिनेछ। परीक्षा केन्द्रको नियमबारे सम्पूर्ण परीक्षार्थीमा जानकारी गराउने र नियम उल्लङ्घन गर्नेलाई कारबाहीसमेत गर्ने मन्त्री यादवले बताउनुभयो। मन्त्री यादवले शिक्षा क्षेत्रका चुनौतीलाई पार गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक लाग्न आग्रह गर्नुभयो।  

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्य सचिव कृष्णबहादुर राउतले परीक्षा केन्द्रको सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने र सबैलाई सामान व्यवहार गरी सम्बन्धित परीक्षा केन्द्रका शिक्षक शिक्षिकाद्वारा परीक्षार्थीलाई जाँच गर्न लगाउनुपर्ने बताउनुभयो। 

मधेश प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयालले मर्यादित, अनुशासित शिक्षा व्यवस्थामा जोड दिनुपर्ने बताउँदै आगामी वैशाखदेखि मधेशका विद्यालयमा नियमित पठनपाठन गरिने बताउनुभयो। 

कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायका प्रमुखले विगतमा परीक्षामा देखिएका समस्याबारे जानकारी गराउनुका साथै आगामी परीक्षाका लागि तोकिएका परीक्षा केन्द्रमा भएको व्यवस्थाबारे जानकारी दिनुभयो। उहाँहरूले आगामी परीक्षा केन्द्रहरूमा सुधार गर्नुपर्ने बारे पनि जानकारी दिनुभएको थियो।