• १३ असोज २०८१, आइतबार

समाचार प्रभाव

जुट्न थाल्यो सहयोग

blog

बिर्तामोड समाचारदाता 

बिर्तामोड, चैत १४ गते । झापा कनकाई नगरपालिका–३ की बीना लिम्बूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ। 

श्रीमान्द्वारा हतियार प्रहार गरी सख्त घाइते बन्नुभएकी ३८ वर्षीया बीना लिम्बू खर्च अभावमा घरमै मृत्यु कुरिरहेको समाचार यसअघि गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा प्रकाशित भएको थियो। समाचार प्रकाशनपछि देश विदेशमा रहेका नेपालीले चासोसहित सहयोग गर्न थालेका छन्। उहाँलाई अस्ट्रेलियामा रहनुभएका दुर्गाप्रसाद उप्रेतीले नगद पाँच हजार पाँच सय, कनकाई नगरपालिका–३ का रमेशचन्द्र मैनालीले पाँच हजार एक सय, कनकाई नगरपालिका–२ का वडाध्यक्ष बलराम राईले छ हजार रुपियाँ प्रदान गर्नुभएको छ। 

स्थानीय रूपमै पनि एक/दुई हजार सहयोग हुन थालेको उहाँको पारिवारिक स्रोतले बताएको छ। मेची अभियान नामक संस्थाले बीनाको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ। समाचार प्रकाशनपछि बीनाको उपचारका लागि धरान लगिएको अभियानका अध्यक्ष विजय डालमियाले बताउनुभयो। श्रीमान् काे आक्रमणबाट घाइते बन्नुभएकी बीनाको टाउको र पेटमा गम्भीर चोट लागेको थियो। उहाँको उपचार भइरहेको मेची अभियानका सदस्य कौशल भण्डारीले बताउनुभयो। 

श्रीमान् पदमकुमार कुमाललाई हाल ज्यान मार्ने उद्योगमा म्याद थपेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो। बीनाको उपचारका लागि धरानमा भर्ना गरी उपचार भइरहेको बीनाका दाजु सोमबहादुर लिम्बूले जानकारी दिनुभयो। 

बीनाले सात महिनाअगाडि प्रेम विवाह गर्नुभएको हो। बीनालाई उपचारका लागि लैजान कनकाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो।