• १३ असोज २०८१, आइतबार

छड्के जाँचमा कार्यालय प्रमुखसहित २९ कर्मचारी अनुपस्थित

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ। फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १३ गते। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा गरिएको छड्के जाँचका क्रममा तीन कार्यालय प्रमुखसहित उनन्तीस जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा गरेको छड्के जाँच (अनुगमन) का क्रममा उक्त सङ्ख्यामा कर्मचारी बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको पाइएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईको नेतृत्वमा गरिएको छड्के जाँचमा विभिन्न १३ वटा कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा तीन वटा कार्यालयका प्रमुखसहित चारजना अधिकृत स्तरका कर्मचारी अनुपस्थित रहेको पाइएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो। छड्के जाँचका क्रममा सहायक स्तरका सात र श्रेणिविहीन १५ जना कर्मचारी पनि अनुपस्थित भेटिएको उहाँले जानकारी दिनुभयो। 

यस्तै छड्के जाँचका क्रममा करिब २० जना कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा उपस्थित भएको पाइएको छ। त्यस्तै अधिकांशले कर्मचारीले परिचयपत्र समेत नलगाएको भेटिएको उहाँले बताउनुभयो। यता अनिवार्य तोकिएको पोसाकमा र परिचयपत्रसहित कार्यालयमा उपस्थित हुनका लागि कर्मचारीलाई निर्देशन गरिएको छ। 

छड्के जाँचका क्रममा बिना जानकारी अनुपस्थित भेटिएका कर्मचारीलाई स्पष्टीकरण सोधिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कार्यालयहरूमा जिम्मेवार कर्मचारी नै अनुपस्थित रहँदा सेवाग्राही मार्कामा पर्ने गरेका बताइएको छ।