बाबुराम शर्मा
दोलखा, चैत ९ गते । ढिलै भए पनि दोलखाको सैलुङ गाउँपालिका –७ मा सुविधासम्पन्न चर्नावती वृद्धाश्रम निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएपछि भित्री व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ । आगामी जेठ महिनामा उद्घाटन हुनेगरी काम भइरहेको चर्नावती त्रिवेणी विकास सङ्घका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार पहलकदमी थालिएको करिब १० वर्ष र निर्माण थालनी भएको करिब पाँच वर्षपछि निर्माण सम्पन्न भएको हो ।
चर्नावती वृद्धाश्रमको पहलकदमी २०६९ मा र २०७४ मा भवन निर्माण सुरु गरिएको थियो । पाँच करोड रुपियाँमा भवन निर्माण हुने डीपीआर तयार भए पनि दुई करोड ५६ लाख रुपियाँमा ठेक्का सम्झौता भएपछि संरचना अधुरो पारेर छोड्दा लामो समय लागेको हो ।
चर्नावती त्रिवेणी विकास सङ्घका अध्यक्ष बुढाथोकीले भन्नुभयो, ‘अन्तिममा गाउँपालिकाले हेर्ने टुङ्गो लागेपछि निर्माणको काम अघि बढेको हो । बजेट समयमा नआउने झन्झटले पनि निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ ।
गाउँपालिकाका प्राविधिक रामकाजी कार्कीका अनुसार करिब २५ रोपनी जग्गामा बनेको ७८ झ्याले भवनमा तीन तला र तलैपिच्छे तीन–तीन वटा ट्वाइलेट बाथरुमसहितका २१ कोठा छन् । भवनभित्रै भान्सा कोठा र प्रतीक्षालय पनि छ ।
तामाकोसी, चर्नावती र गोपीखोलाको सङ्गमस्थल भएकाले यो क्षेत्रलाई त्रिवेणी भनिएको हो । भारतको गयामा श्राद्ध गर्न जानेलाई नेपाली उत्तरगयाको रूपमा रहेको चर्नावतीमा पहिला श्राद्ध नगरी तीर्थ पूरा नहुने भन्ने गरिएको बुढापाकाहरूको भनाइ छ ।
त्रिवेणी आसपासमा चार चौका भएको सीताचुलो, रामघाट, सीताकुण्ड, सीतापाइला आदि चिन्हका आधारमा स्थानका नामकरण भएका छन् । यो पवित्रस्थल भएकाले रामसीताको क्रीडास्थल रहेको ऐतिहासिक पाटो देखिन्छ । यो ठाउँ पवित्रताको हिसाबले मात्र होइन, काठमाडौं, भारतको गया र चीनबाट पनि नजिक छ ।
यसको आसपासमा भीमेश्वर नगरपालिका, वैतेश्वर, तामाकोसी र सैलुङ गाउँपालिकाको पायक पर्ने ठाउँमा उत्तम त्रिवेणीघाट पनि निर्माण भइसकेको छ ।
यो ठाउँलाई नेपाली उत्तरगयाको विकासका निम्ति गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार घाट, वृद्धाश्रम निर्माण भए तापनि अरू थुप्रै संरचना निर्माण गर्नुपर्नेछ । २५ करोड रुपियाँ लाग्ने भएकाले सबैको सहयोगको अपेक्षा गरिएको छ ।