• १३ असोज २०८१, आइतबार

वडा कार्यालय जाँदैनन् सचिव

blog

खोटाङ समाचारदाता

खोटाङ, चैत ९ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अधिकांश सचिव वडामा नजाने गरेको पाइएको छ । १५ वडा रहेको नगरपालिकाको सातवटा वडाका सचिव कार्यालयमा नगई सदरमुकाममा बस्ने गरेको पाइएको हो । 

वडा सचिवहरू वडा कार्यालय नबसी सदरमुकाममा बसेर अड्डा जमाएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । दिक्तेलस्थित एक फोटोकपी पसलमा सातवटै वडाका सचिवहरूको बसोबास हुने गरेको पाइएको हो । 

बुइपा र बाम्राङ हेर्ने मोहन आचार्य, खार्मीका होमनाथ खनाल, निर्मलीडाँडा र जालपा हेर्ने सञ्जीव मुग्राती, बुवालुङका मीनप्रसाद आचार्य र नेर्पाका बबिता आचार्य वडा कार्यालया नबसेको स्थानीयको गुनासो छ । उनीहरूबाट काम गराउन सेवाग्राही गाडीमा महँगो भाडा तिरेर दिक्तेल आउनु परिरहेको छ । वडाको काम गर्न सधैँ दिक्तेल नै आउनुपर्ने बाध्यता रहेको बुवालुङका ७० वर्षीया ज्येष्ठ नागरिक बल्लीहीरा राईले बताउनुभयो । 

नाम नबताउने सर्तमा एक जनाले वडामै हुने कामका लागि दिक्तेलको भवन गैरासम्म आउँदा गाडी चढ्नुपर्ने र त्यहाँ आउँदा पनि सचिवलाई फोन गरेर खोज्नुपर्ने, खाजा र चियासमेत खुवाउनुपर्ने बताउनुभयो । वडामा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्ता, बसाइँसराइँ गर्दा राजस्व मात्रै तिर्नुपर्ने हुन्थ्यो तर दिक्तेलमा आएर काम गर्दा फोटोकपी र कागजको पैसा पनि तिर्न सेवाग्राही बाध्य छन् ।