काठमाडौं, चैत ६ गते । स्पेनिस ला लिगा फुटबलको चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनाले बाजी मारेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई २–१ गोलले हरायो ।
जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड थप बलियो बनाएको छ । सुरुवातमा आत्मघाती गोलले पछि परेको बार्सिलोनाले पुनरागमन जित निकालेको हो । बार्सिलोनाको जितमा सर्जी रोबर्टो र फ्रान्क केस्सीले गोल गर्नुभयो । रियलले आत्मघाती गोल उपहार पाएको थियो ।
नवौं मिनेटमा बार्सिलोनाका रोनाल्ड एराउजोको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । ४५औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
त्यसपछि इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई जिताउनुभयो ।जितसँगै बार्सिलोनाले शीर्षस्थानमा १२ अङ्कको अग्रता बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अङ्क छ । पराजित रियल ५६ अङ्कसहित दोस्रो स्थानमा छ । एजेन्सी