• २५ वैशाख २०८१, मङ्गलबार

उसु महासङ्घको अध्यक्षमा बर्तौला निर्विरोध निर्वाचित

blog

नेपाल उसु महासंघका नव निर्वाचित पदाधिकारी सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत ५ गते । नेपाल उसु महासङ्घको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित हुनुभएको छ ।

उसु महासङ्घको शनिबार राति सम्पन्न साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो । 

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुङ्गाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शङ्कर भुजेल निर्विरोध चुनिनुभयो । 

शुभराम मुनङ्गकर्मी, लव ढुङ्गाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अञ्जलि थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुसाल सदस्यमा चयन हुनुभयो । 

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासङ्घ, तदर्थ समिति गठन गरेको थियो ।

नव निर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गर्नुभएको थियो । 

त्यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष शिव कोइरालाले लाटिम्पाटमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । साधारण सभामा केन्द्र, चार प्रदेश र विभिन्न ३० जिल्लाका गरी ६९ प्रतिनिधिको उपस्थिति रहेको थियो ।