• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा सामान्य सवारीमा कुमारीको दर्शन

blog

कुमारी घरको दर्शन गरेर फर्किनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा (कारगेट नलिई) काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुग्नु भएको छ ।राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारीको दर्शन गर्न जाँदा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नु भएको हो । 

कारगेट बिनानै उहाँले सामान्य सवारीमा त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएको हो । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना नै सवार हुनुभयो ।

अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो । 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गर्नुभएको थियो । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न जानुभएको हो । 

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्कनुभएको छ। राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ । 

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उहाँको आलोचना भएको थियो । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुुनुभएको हो ।