• १३ साउन २०८१, आइतबार

थोर्गाको गुड र खुदो प्रख्यात बन्दै

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत २ गते । गुल्मी थोर्गाका चोलानाथ ज्ञवालीको दैनिकी गुड बनाउँदैमा बित्ने गर्छ । ज्ञवालीको रुरुक्षेत्र गाउँपालिका–३ मा थोर्गेली चोलानाथ गुड उद्योग सञ्चालित छ । २०७४ सालमा गुड उद्योग सञ्चालन गर्नुभएका ज्ञवालीले ५० रोपनी क्षेत्रफलमा उखुखेती गर्नुभएको छ । ५४ वर्षीय ज्ञवाली बिहान झिसमिसेदेखि बेलुका अबेरसम्म उखुको स्याहारदेखि खुदो, गुड बनाउन व्यस्त हुनुहुन्छ । 

गुड र खुदोको प्रमुख कच्चा पदार्थ उखु हो । किसानले बारीमा लगाएको उखु कोटर सफा गरेपछि काठ, फलामे मेसिनबाट रस निकालिन्छ । त्यो रसलाई फिल्टर गरेर आगोमा पकाएर खुदो बनाइन्छ । त्यही खुदोलाई साना साना भाँडोमा पकाएर मसला र विभिन्न स्वाद हुने गरी निश्चित आकार अनुसार गुड तयार गरिन्छ ।  जसका लागि ज्ञवालीको फर्ममा अहिले दैनिक पाँच जनाले रोजगारी पाएका छन् । 

थोर्गेली उखु भनेपछि सबैले मन पराउने गर्छन् । त्यसैले पनि थोर्गा गुड तथा खुदोका लागि प्रख्यात छ । ज्ञवालीले परम्परागत शैलीमा गर्दै आएको उखुलाई आधुनिक प्रविधिको प्रयोगबाट खुदो र गुड बनाउने गर्नुभएको छ । यहाँ उत्पादन भएको गुड र खुदोको माग देशका प्रमुख सहरसँगै विदेशमा पनि बढ्दो छ । गुड र खुदो बिक्री गरी वार्षिक आठ लाख आम्दानी गर्दै आउनुभएको छ । 

गुड तथा खुदो बनाउन प्रयोग गरिने उखुखेतीमा लागेका कृषकहरू अहिले व्यवसायीक रूपमा सक्रिय भएका छन् । पछिल्लो समय पाखो बारीमा अन्नबालीको साटो उखु खेती गरी कृषकको मनग्य आम्दानी  हुँदै आएको छ । खुदो प्रतिलिटर एक सय ८० रुपियाँदेखि दुई सय ५० रुपियाँ, सादा गुडको एक सय ७० र मसलावाला गुडको एक सय ५० रुपियाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । 

गुड पाँच प्रकारको बनाइन्छ । मसलादार, सादा, चकलेटी, फसफसे र हाडे । सोंफ, नरिवल र बदामलगायत राखेर तयार पारिएको गुडलाई मसलादार भनिन्छ । जुन अन्य गुडको तुलनामा अधिक बिक्री हुन्छ । बालबालिका र किशोर किशोरीका लागि मुखमा राखेर चपाइराख्न हाडे गुड तयार गरिन्छ । स्कुल तथा कलेजका विद्यार्थीले धेरै खोज्छन् । थानपति, बलेटक्सार, हर्दिनेटा, थोर्गा र दिमागलगायतका स्थान उखुका लागि जिल्लाकै पकेट क्षेत्र मानिन्छ । 

गतवर्ष छत्र कोट गाउँपालिका दिमाग–मानकोट र हर्दिनेटा र रुरु गाउँपालिका विभिन्न स्थानमा उखु ब्लगको कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । यस आर्थिक वर्ष जिल्लाभर १ सय ७२ हेक्टर क्षेत्रफलमा उखुखेती गरिएको छ । करिब २ करोड बराबरको उखु र त्यसका परिकार बाहिर निर्यात भएको भण्डारीले जानकारी दिनुभयो । 

“थोर्गली खुदो र गुड गाउँपालिकाकै पहिचानको रूपमा छ ।” रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले भन्नुभयो,–“उखुको उत्पादन वृद्धि गर्न ब्उी वितरण व्यावसायिक गर्न अत्याधुनिक मेसिनको स्थापना मिठाई बनाउने तयारीमा छौँ ।”  अध्यक्ष ज्ञवालीले यहाँको गुड र खुदो रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौँका सहरदेखि विदेशसम्म पुग्ने गरेको जानकारी दिनुभयो ।