• १५ असार २०८१, शनिबार

सूचना प्रविधिको माध्यमबाट नयाँ अवसर सिर्जना गर्न सकिन्छ : मन्त्री शर्मा

blog

एशिया–प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : रासस

काठमाडौं, फागुन ३० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

राजधानीमा आज (मङ्गलबार) देखि सुरु भएको एशिया–प्यासिफिक एड्भान्स नेटवर्क (एपान)को ५५औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारले आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणको पहल थालेको र त्यसका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग र थप लगानी प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षालगायत क्षेत्रमा गहिरो ध्यान गएको बताउनुभयो ।

डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल समाज निर्माणको लक्ष्य राखेको जनाउँदै उहाँले सबै नागरिकमा आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्ने र यसलाई आममानिसको जीवनस्तर सुधार गर्न प्रयोग गर्न सकिनेमा नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो ।

“फ्रेमवर्कमा डिजिटल साक्षरता प्रवद्र्धन, डिजिटल पूर्वाधार विस्तार र सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति, रणनीति र कार्यक्रम समावेश छन्”, मन्त्री शर्माले भन्नुभयो, “हाम्रो लक्ष्य भनेको प्रविधिको उच्चतम् प्रयोग गरी नयाँ नयाँ अवसर सिर्जना गर्ने र मुलुकको आर्थिक समृद्धि हासिल गर्ने हो ।”

वैज्ञानिक अनुसन्धान, आविष्कार र नवप्रवर्तन  विकासको मेरुदण्डका रुपमा रहेको भन्दै उहाँले अनुसन्धानमार्फत नै नयाँ प्रविधिहरू पत्ता लगाउन, नयाँ अवसर पहिचान गर्न र जटिल समस्या समाधान गर्न सकिने बताउनुभयो ।

अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता झन् बढ्दै गएको उल्लेख गर्दै उहाँले यसका लागि नेपाल सरकार सबै क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

“सम्मेलनले हामीलाई एकअर्काबाट सिक्ने, उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने र हामीले सामना गर्नुपर्ने चुनौतीको नवीन समाधान पहिचान गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु”, मन्त्री शर्माले भन्नुभयो ।

सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको जनाउँदै उहाँले नेपालले यसबाट उच्चतम लाभ लिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

“हामी बर्सेनि हजारौंको सङ्ख्यामा सूचना प्रविधिका दक्षजनशक्ति उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छौँ । इन्टरनेटको पहुँच पनि उल्लेख्य मात्रामा बढिरहेको छ । तसर्थ नेपालमा रोजगारीका अवसर सिर्जना गर्दै विदेशका काम नेपालमा आउटसोर्सिङ गर्न सके यसले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

सूचना प्रविधिको प्रयोग विकासोन्मुख देशमा अझ बढी आवश्यक रहेको जनाउँदै उहाँले सूचना प्रविधिको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

“सूचना प्रविधिको विकास र पहुँच स्थापना गर्न सके यसले महामारी व्यवस्थापनमा ठूलो सहयोग गर्नेछ । यसले देशको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पनि गर्नेछ”, मन्त्री शर्माले भन्नुभयो ।

प्रविधिको विकाससँगै ‘डिजिटल डिभाइड’ पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले डिजिटल डिभाइडको खाडललाई कम गर्दै सूचना प्रविधिले सबैका लागि समान अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सन् २०१९ मा तयार गरी अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्कले राज्यका बहुआयामिक विषयलाई सूचना प्रविधिको सहयोगले द्रूत विकास गर्ने परिकल्पना गरेको जानकारी दिँदै उहाँले विभिन्न क्षेत्रमा फ्रेमवर्क अनुसारका गतिविधि अगाडि बढाउने प्रयास गरिएको बताउनुभयो ।

पाँच दिनसम्म चल्ने सम्मेलनमा सूचना प्रविधिको कार्यान्वयनमार्फत प्रकोप व्यवस्थापन, कृषिको आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, तथ्याङ्कमा आम नागरिको पहुँच, इन्टरनेट सुरक्षा र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल हुनेछ । रासस

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एशिया–प्यासिफिक एडभान्स नेटवर्क ९एपान० को ५५ औं अन्तर्राष्ट्रिय सम्मेलनमा गरेको सम्बोधनको पूर्ण पाठः

एशिया–प्यासिफिक एडभान्स नेटवर्क (एपान) को ५५ औं अन्तर्राष्ट्रिय सम्मेलनको यो विशिष्ट क्षणमा आज यहाँ उभिएर तपाईंहरू सबैलाई नेपालमा स्वागत गर्न पाउँदा गौरवान्वित महसुस भएको छ । विश्वभर फैलिएको कोभिड महामारीपछि पहिलो पटक भौतिक रूपमा आयोजना हुन लागेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुनु गौरवको विषय हो । 

एडभान्स नेटवर्क र डिजिटल रूपान्तरण सम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल गर्न विज्ञ र पेशाकर्मीहरूको यस्तो विशिष्ट समूह काठमाडौंमा भेला हुनु एक सुखद अवसर हो । नेपालले यस किसिमका अन्तराष्ट्रिय बैठक तथा सम्मेलन आयोजना गर्ने अवसर प्राप्त हुनु हाम्रा लागि महत्वपूर्ण अवसर हो । मलाई विश्वास छ कि यो सम्मेलन यसिया प्रशान्त क्षेत्र मात्र नभएर सम्पूर्ण विश्वको लागि महत्त्वपूर्ण सावित हुनेछ । 

कोभिड–१९ को महामारीले एडभान्स नेटवर्क र डिजिटल प्रविधिहरूमा पहुँच हुनु आजको ज्वलन्त आवश्यकता हो भन्न स्पष्ट पारेको छ। कोभिड महामारीसँग जुधेर अगाडि बढ्दै गर्दा हामीलाई के पनि महसुस भएको छ भने भविष्यमा समाजको हरेक तहमा सूचना प्रविधिको विकास र पहुँच स्थापना गर्न सके यसले हामीलाई महामारी व्यवस्थापनमा ठूलो सहयोग गर्ने छ । यसले देशको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पनि गर्नेछ ।

 यो सम्मेलनमा सूचना प्रविधि कार्यान्वयन मार्फत् प्रकोप व्यवस्थापन, कृषिको आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, तथ्याङ्कहरूमा आम नागरिको पहुँच, इन्टरनेट सुरक्षा र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल हुने मैले जानकारी पाएको छु । यी सबै विषय हाम्रा अगाडि चुनौति र अवसरको रूपमा आएका छन । विद्यमान र भोलि आउन सक्ने चुनौतिको सामना गर्दै समृद्ध नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोग बढाउनु हाम्रा लागि प्राथमिक कार्यभार बन्न पुगेको छ । 

त्यसका लागि राज्यसहित प्रविधिमा काम गर्ने संघ संस्था, विश्वविद्यालय तथा विज्ञहरूको खोज र अनुसन्धान निकै महत्वपूर्ण हुनेछ । सूचना प्रविधिलाई गुणस्तरीय बनाउने र आम जनताको पहुँचमा पु¥याउने कुरालाई प्राथमिकतामा राख्ने नीति तथा यसका लागि आवश्यक लगानी बढाउनुपर्ने आवश्यकता छ । सूचना प्रविधिको प्रयोग विकासोन्मुख देशहरूमा अझ बढी आवश्यक छ, जसका माध्यमबाट गरिबीविरुद्ध प्रभावकारी रूपमा लड्न अभूतपूर्व अवसरहरू प्राप्त गर्न सकियोस। 

प्रविधिको विकाससँगै डिजिटल डिभाइड पनि बढ्दै गएको छ । डिजिटल डिभाइडको खाडललाई कम गर्दै सूचना प्रविधिले सबैका लागि समान अवसर सिर्जना गर्ने वातावरण बनाउनु पर्छ  । सन् २०१९ मा तयार गरी अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्कले  राज्यका बहुआयमिक विषयलाई सूचना प्रविधिको सहयोगले द्रूत विकास गर्ने परिकल्पना गरेको छ । जसअन्तर्गत विभिन्न क्षेत्रमा फ्रेमवर्क अनुसारका गतिविधिहरु अगाडि बढाउने प्रयास गरिएको छ । 

डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल समाज निर्माणको लक्ष्य राखेको छ । सबै नागरिकमा आधुनिक प्रविधिको पहुँच सुनिश्चित गर्ने र यसलाई आम मानिसको जीवनस्तर सुधार गर्न प्रयोग गर्न सकिने विश्वास गरिएको छ । यस फ्रेमवर्कले डिजिटल साक्षरता प्रवर्द्धन, डिजिटल पूर्वाधार विस्तार र सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति, रणनीति र कार्यक्रमहरू समावेश छन् । 

हाम्रो लक्ष्य भनेको प्रविधिको उच्चतम प्रयोग गरी नयाँ नयाँ अवसरहरू सिर्जना गर्ने र मुलुकको आर्थिक समृद्धि हासिल गर्ने हो । डिजिटल नेपाल फ्रेमवर्कको अतिरिक्त म सूचना प्रविधि क्षेत्रमा अनुसन्धानको महत्त्वलाई पनि जोड दिन चाहन्छु। वैज्ञानिक अनुसन्धान, आविष्कार र नवपर्वतन  विकासको मेरुदण्ड हो । यसले हरेक क्षेत्रको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेल्दछ । अनुसन्धानमार्फत हामी नयाँ प्रविधिहरू पत्ता लगाउन, नयाँ अवसरहरू पहिचान गर्न र जटिल समस्याहरू समाधान गर्न सक्छौं।त्यसैले हामीले अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता झन बढ्दै गएको छ । यसका लागि नेपाल सरकार सबै क्षेत्रसँग सहकार्य गर्न तयार छ । 

यो सम्मेलनले हामीलाई एकअर्काबाट सिक्ने, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्ने र हामीले सामना गर्नुपर्ने चुनौतीहरूको नवीन समाधानहरू पहिचान गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । सूचना प्रविधि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो र नेपालले यसबाट उच्चतम लाभ लिन सक्दछ भन्ने मलाई विश्वास छ । हामी बर्सेनि हजारौँको संख्यामा सूचना प्रविधिका दक्ष जनशक्तिहरु उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छौँ । इन्टरनेटको पहुँच पनि उल्लेख्य मात्रामा बढिरहेको छ । तसर्थ नेपालमा रोजगारीका अवसर सिर्जना गर्दै विदेशका कामहरु समेत नेपालमा आउटसोर्स गर्न सके यसले नेपालको अर्थतन्त्रमा टेवा पु¥याउने छ । 

हामीले सरकारको तर्फबाट सूचना प्रविधिलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ । सूचना प्रविधिसम्बन्धी कानुन परिमार्जन, आवश्यक नीति निर्माण, साइबर सुरक्षाका लागि सचेतना, सार्वजनिक तथा निजी तथ्याङ्कको सुरक्षालगायतको क्षेत्रमा हाम्रो गहिरोसँग ध्यान गएको छ । आफ्नै भू–उपग्रह र सफ्टवेयर निर्माणमा पनि पहल थालेका छौँ । त्यसका लागि उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग र थप लगानी सरकारको प्राथमिकतामा रहेको छ ।

हाम्रो सही नीति र लगानीले अनुसन्धान, आविष्कार र नवपर्वतर्नको क्षेत्रमा प्रगति गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीको हैसियतमा रहेर यो क्षेत्रलाई प्रवर्द्वन गर्न मेरो हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरोकारवाला निकाय तथा विज्ञहरुलाई समेत म यस क्षेत्रको विकासमा ठोस योजनाहरु सहित आउनका लागि अपिल गर्दछु । यस सम्मेलनको आयोजक राष्ट्रको रूपमा नेपाललाई छनोट गरी उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा यस सम्मेलनका आयोजकहरूलाई धन्यवाद दिन चाहन्छु। 

अन्त्यमा, एपानले अघि सारेका लक्ष्यहरू अगाडि बढाउन, डिजिटल रूपान्तरणलाई ड्राइभ गर्न र सबैका लागि उज्यालो भविष्य सिर्जना गर्ने हरक्षेत्रका हाम्रा साझेदारहरूसँग काम गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु। 

धन्यवाद।

२०७९-११-३०