• १३ साउन २०८१, आइतबार

‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक

blog

काठमाडौँ, फागुन २९ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नामक आत्मवृत्तान्त पुस्तक सार्वजनिक भएको छ ।  राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । पुस्तकमा नेपाली चिकित्सकले भोग्नुपर्ने समस्या, भोगेका समस्या, डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीति र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ । 

डा. उपाध्यायले पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदो रहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भीआईपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको जानकारी दिनुभयो । कार्यक्रममा डा. मृगेन्द्रराज पाण्डेले मुलुकको स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा धेरै उन्नति भएको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्न सरकारसँगै स्वास्थ्य क्षेत्रमा क्रियाशील सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले पहिलेको स्वास्थ्य अवस्था र वर्तमान स्वास्थ्य अवस्थाबारे प्रकाश पार्नुभयो । उहाँले डा. उपाध्यायको पुस्तकले स्वास्थ्य क्षेत्रमा धेरै विषय प्रस्ट भएको बताउनुभयो । आत्मवृत्तान्तमा आधारित सो पुस्तकको प्रकाशक इदा उपाध्याय हुनुहुन्छ ।

तत्कालीन सोभियत सङ्घबाट मुटुरोग विशेषज्ञको अध्ययन पूरा गर्नुभएका डा उपाध्यायले निरन्तर मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पु-याएको र आफ्नो भोगाइ तथा अनुभव पुस्तकमार्फत समेट्न खोजिएको बताउनुभयो ।