• १३ साउन २०८१, आइतबार

स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड

blog

काठमाडौँ, फागुन २७ गते । अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीमा शुक्रबार आयोजित दोस्रो अर्थशास्त्री सम्मेलनका वक्ताले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रबाट मुलुकले खाजेको समृद्धि प्राप्त नहुने बताउनुभएको हो । 

कार्यक्रममा नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । 

अर्थतन्त्र र विकासका सम्बन्धमा वडाध्यक्षदेखि प्रधानमन्त्री सबैलाई विशेष किसिमको तालिम नै आवश्यक परेको उहाँको भनाइ थियो । अर्थतन्त्रमा संरचनात्मक समस्या नै भएकाले त्यसलाई बदल्न जरुरी रहेको उहाँले बताउनुभयो । 

“अहिले हाम्रो अर्थतन्त्रका बारेमा जुनसुकै क्षेत्रबाट चिन्ता व्यक्त भएको देखिन्छ, संरचनात्मक सुधारबिना अर्थतन्त्रको दीर्घकालीन समाधान हुन सक्दैन,” उहाँले भन्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद घिमिरेले बैङ्कको लगानी गर्ने क्षमतामा बिस्तारै सुधार आइरहेको बताउनुभयो । विगतमा कतिपयले कर्जाको दुरुपयोग गरेका कारण केही नीतिमा सुधार गर्नुपरेको उहाँको भनाइ थियो । बैङ्किङ क्षेत्रमा बिस्तारै सुधार देखिन थालेकाले सबै कुरालाई नकारात्मक रूपमा नलिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौडेलले आयातमा गरिएको प्रतिबन्धका कारण उद्योगधन्दाले समेत समस्या भोग्नुपरेको बताउनुभयो । यसले अर्कोतिर मुलुकको राजस्व नै घट्दा सरकारी खर्च पनि कम भएकाले आर्थिक गतिविधि सुस्ताएको उहाँको भनाइ थियो । 

आयातका कारण अर्थतन्त्रमा देखिने यस्तो समस्यालाई समाधान गर्न पनि स्वदेशी वस्तु उत्पादन र प्रयोगमा जोड दिनुपर्ने उहाँको सुझाव थियो । 

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)का अध्यक्ष कृष्ण आचार्यले राज्यले लिएका नीति सहयोगात्मकभन्दा पनि निषेधात्मक हुँदा निजी क्षेत्रले अनुकूल वातावरणमा काम गर्न नपाएको बताउनुभयो । उद्योगधन्दा तथा लगानीका क्षेत्रमा वर्षौंदेखि एकद्वार प्रणाली घोषणा गरिए पनि त्यस्ता हुन नसकेको उहाँको गुनासो थियो । 

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारीले अर्थतन्त्रमा धेरै ठूलो योगदान दिए पनि राज्यबाट सोअनुसार नीतिगत सहयोग नभएको बताउनुभयो । केही सहकारीको समस्याका कारण समग्र सहकारी क्षेत्रलाई नै बदनाम गराउने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ थियो ।