• ११ वैशाख २०८२, बिहिबार

मार्फामा ढकमक्क फुल्यो खुर्पानी

blog

मार्फामा ढकमक्क फुलेको खुर्पानी र आरुबखडा । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन २५ गते । हिमालपारिको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा खुर्पानी तथा आरुबखडा फुलेर ढकमक्क भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूल अब बिस्तारै फुल्नेबेला भएकाले पहिलो चरणमा अहिले खुर्पानी तथा आरुबखडा फुलेको हो । 


शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको हाताभित्र अहिले खुर्पानी एवम् आरुबखडाले आफ्नो सुन्दर रूप देखाएको केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो । “यो फलफूलमा फुल खेल्ने बेला हो, केही समय अगाडि कागजी बदाम फुल्यो, अहिले आरुबखडा र खुर्पानी अब स्याउ फुल्न थाल्छ” उहाँले भन्नुभयो । अब चैतको पहिलो हप्ताबाट स्याउ फुल्न थाल्छ । स्याउमा पनि फूल खेल्ने समय भएकाले अब लगत्तै स्याउको बोटमा पनि फुल फुल्ने उहाँले बताउनुभयो । 

मार्फा क्षेत्रमा फलफूलको बोटमा ढकमक्क फूलखेल्दा आन्तरिक तथा बाह्य पर्यटक उत्साहित हुने मार्फाका अगुवा कृषक दीपक लालचनको भनाइ छ । उहाँले भन्नुभयो, “फलफूलका बोटमा लागेका फूलले लालायित हुने पर्यटकहरू केहीबेर भए पनि गाडी रोकेरै दृश्यावलोकन गरेर हिँड्ने गर्छन् ।” 


अबको एक महिना मार्फा क्षेत्रमा शीतोष्ण हावापानीमा हुने फलफूलको ढकमक्क फुलेका फुलहरूले सबैलाई आकर्षित गर्ने लालचनको भनाइ छ । बागवानी फर्मभित्र मात्रै नभएर अहिले मुस्ताङ जिल्लाभरि आरुबखडा र खुर्पानी फुलेको उहाँले बताउनुभयो ।

होटल अन्नपूर्ण इन मुक्तिनाथका सञ्चालक पर्यटन व्यवसायी अमृत सुवेदीले मार्फामा देखिने प्राकृतिक दृश्यले अब आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । मार्फा क्षेत्र हुँदै मुस्ताङका हरेक क्षेत्रमा अब फलफूलमा फुल लाग्ने भएकाले पनि पर्यटकका लागि दृश्यावलोकन गर्न उत्कृष्ट समय सुरु भएको उहाँको भनाइ छ ।