• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचनको मतदान सुरु : पौडेल र नेम्वाङद्वारा मतदान

blog

मतदान गर्नुहुँदै राष्ट्रपतिका उम्मेदवारद्वय सुवासचन्द्र नेम्वाङ र रामचन्द्र पौडेल । तस्बिर: केशव गुरुङ्ग  

काठमाडौँ,  फागुन   २५ गते । बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको  छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बिहान १० बजेदेखि राष्ट्रपति निर्वाचनको मतदान सुरु भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार राष्ट्रपतिका उम्मेदवार पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत खसाल्नुभएको हो । राष्ट्रपति पदमा  दुईजना उम्मेदवार हुनुहुन्छ । पूर्व सभामुख एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि मत खसाल्नुभएको छ । पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ भने,  नेम्वाङले एमालेका तर्फबाट एकल उम्मेदवार दिनुभएको हो ।

राससका अनुसार आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गर्नुभयो । मतदाता मतदान स्थलमा पुगिसकेका छन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । 

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ ।   

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।    

विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।     

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।     

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । 


यो पनि पढ्नुहोस

राष्ट्रपति निर्वाचनकाे इतिहास

राष्ट्रपति निर्वाचन आज