शशिधर पराजुली
विराटनगर, फागुन २५ गते । कोशी प्रदेश सरकारको लगानीमा नयाँ पाउडर प्लान्ट स्थापना भई सञ्चालनको तयारी भइरहेको बेला सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानको विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएको छ । बजेट र सरकारी नियमन अभावले प्लान्ट झन्डै एक वर्ष देखि शून्य गतिविधि गर्दै आएको हो ।
तर सरकारी स्वमित्वकै प्लान्ट बन्द गरेर कोसी प्रदेश सरकारले भने निजी संस्थालाई २० करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । सरकार नै सरकारी संस्थाहरूलाई दुरुत्साहन गर्दै निजीलाई वढावा दिएको यो एउटा गतिलो उदाहरण बनेको छ । विराटनगरको डिडिसीको प्लान्ट बन्द छ तर सुनसरीको तरहरामा रहेको सगरमाथा विशिष्टीकृत सहकारी संस्थालाई पाउडर दूध उत्पादन गर्न भन्दै २० करोड रुपियाँ अनुदान उपलब्ध गराएको हो ।
दूधको खपत बढाउने उद्देश्यले डिडिसीले सञ्चालनमा ल्याएको प्लान्टलाई भने सरकार नत अनुगमन नै गरेको छ नत अनुदान रकम नै उपलब्ध गराएको छ । तत्कालीन प्रदेश १ सरकारले यसरी सरकारी संस्था बन्द गराउने खेल खेलेको गुनासो स्थानीयहरूले गरेका छन् ।
किसानहरूकै चलाखीले डिडिसीको प्लान्ट बन्द गरेर निजीकरण गरी उपभोक्ता माथि मनोमानी सुरु गर्न थालेको बुझिएको छ । यता डिडिसीको पाउडर प्लान्टमा दूध अभाव गराउँदै यहाँका किसानले दैनिक १५ हजार लिटर दूध कास्कीको पोखरामा विक्री गर्दै आएको थियो । त्यसपछि दूध नपाएपछि प्लान्ट बन्द जस्तै भएको छ, यता निजी संस्थाले उस्तै प्रकारको प्लान्ट निर्माण सम्पन्न गरेपछि अव डिडिसीको प्लान्ट सञ्चालन हुने अवस्थामा छैन ।
किसानहरूले भने डिडिसीको सञ्चालन घाटा उच्च भएका कारण किसानसँग दूध खरिद गरे पनि समयमा किसानलाई पैसा तिर्न नसकेका कारण दूध विक्री नगरेको जनाएको छ ।
ढिलो भुक्तानीले समस्या हुने भएपछि किसानहरूले डिडिसीको साटो निजी डेरी तथा सहकारीहरूलाई दूध बिक्री गर्न थालेका स्वीकार गरेका हुन् । दैनिक सरदर ७० हजार लिटर दूध सङ्कलन गर्दै आएको डिडिसीको विराटनगर आयोजना क्रमशः खुम्चिँदै दैनिक ४० हजार, २० हजार हुँदै अहिले शून्य जस्तै भएको छ ।
अव प्रदेश १ का किसानबाट उत्पादित दूधको खपत बढाउन र बढी दूध उत्पादन हुने समयमा धूलो दूध बनाएर राख्न समस्या नहुने विशिष्टीकृत सहकारी संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले बताउनुभयो ।
सहकारीले प्रतिघण्टा १० हजार लिटर दूध प्रोसेसिङ गरी पाँच मेट्रिकटन धूलो दूध उत्पादन गर्ने क्षमताको पाउडर प्लान्ट स्थापना गरेको लुइँटेलले बताउनुभयो । उहाँले चैत्र महिनाभित्रै प्लान्ट उद्घाटन गर्ने तयारी रहेको जानकारी दिनुभयो । कोसी प्रदेश सरकारको २० लाख अनुदान र सहकारी संस्थाको तर्फबाट ८ करोड रुपैयाँ गरी २८ करोडमा प्लान्ट निर्माण गरेको उहाँले बताउनुभयो ।
दूधको मूल्य वृद्धि
सरकारले केही दिन अगाडि दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । मूल्य वृद्धिपछि दूध उत्पादक किसानहरू उत्साहित भएका छन् । पछिल्लो मूल्य वृद्धिसँगै भैँसी पाल्ने किसानहरूले प्रतिलिटर ९० रुपैयाँ वा त्यसको हाराहारीमा पाउने भएका छन् ।