• १३ साउन २०८१, आइतबार

उखु क्रसिङ बन्द

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन २५ गते । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यस वर्ष १० लाख ९५ हजार तीन क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ । 

सीमावर्ती क्षेत्र नजिकै रहेको यो उद्योगमा सर्लाही जिल्लाको दक्षिणी भेग र सीमापारि भारतका किसानले समेत उखु ल्याएर बिक्री गर्दै आएका छन् । महालक्ष्मीले उखु ल्याएर दिएका किसानलाई क्रमिक रूपमा भुक्तानी गरिरहेको दाबी गरेको छ । 

स्थानीय शिवशङ्कर महतोले उखु नपाएपछि सूचना निकालेर मिल बन्द भएको र किसानले सूचीअनुसार भुक्तानी पाइरहेको बताउनुभयो । सर्लाहीमा यसअघि अन्नपूर्ण चिनी उद्योग धनकौल दुई साताअघि नै बन्द भइसकेको छ । उद्योगले किसानको भुक्तानी भने गरेको छैन । 

जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले भने उखु क्रसिङ गरिरहेको छ । इन्दुशङ्करले २८ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । अझै दुई हप्ताजति उखु पेलेर उद्योग बन्द गरिने उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो । देशकै ठूलो यो उद्योगले यस वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । इन्दुशङ्करले किसानलाई ६० करोड रुपियाँ भुक्तानीसमेत गरिसकेको उहाँले बताउनुभयो । 

उखु नपाएर चिनी उद्योग धमाधम बन्द भए पनि जिल्लामा सखर बनाउने क्रसर उद्योग भने चलिरहेका छन् । चिनी मिलले भुक्तानीमा आलटाल गर्ने भएकाले किसानले सखर उद्योगलाई सस्तो मूल्यमा उखु बेच्ने गरेका छन् । सरकारले यस वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपियाँ कायम गरेको छ ।