• ९ पुस २०८१, मङ्गलबार

खार्पुनाथ शिवालयको स्वरूप परिवर्तन हुँदै

blog

खार्पुनाथ शिवालयको पहिलेको स्वरुपमा परिवर्तन । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, फागनु २४ गते । जिल्लाकै प्रसिद्ध शिव मन्दिरमा पर्ने खार्पुनाथ शिवालयको पहिलेको स्वरूपमा परिवर्तन आएको छ । आकर्षण र व्यवस्थित बनाउन विभिन्न संरचना निर्माण कार्य भएपछि पहिलेको मन्दिरको स्वरूप परिवर्तन भएको हो । 

खार्पुनाथ गाउँपालिका– ५ को खर्पेल गाउँका पूर्व वडाअध्यक्ष भिमराज शाहीले धेरै संरचना नयाँ निर्माण भएपछि प्रसिद्ध धार्मिकस्थल खार्पुनाथ शिवालयको स्वरूपमा परिवर्तन आएको बताउनुभयो । भक्तजनलाई पूजापाठ गर्न सहज बनाउन र धार्मिक पर्यटक आकर्षित गर्नका लागि विगत पाँच वर्षयता नयाँ संरचना निर्माण भइरहेका छन् । उहाँले नयाँ मन्दिर निर्माणदेखि शिवमन्दिर जाने बाटो समेत नयाँ निर्माण गरिएपछि मन्दिर क्षेत्र सुन्दर बनाउन नयाँ संरचना निर्माण कार्यले धेरै मनमोहक बनाएको बताउनुभयो । 

शिवालय अगाडि त्रिशूल गाड्ने, ढुङ्गाको साँढे निर्माण, लास जलाउने घाट निर्माण, कर्णाली नदी किनारमा तटबन्धन निर्माण, शौचालय, मन्दिर परिसर प्रवेश गर्ने दुई वटा क्षेत्रमा प्रवेशद्वार बिधुुतको व्यवस्था पुगेपछि सबै भक्तजनलाई आकर्षित गरेको छ । शिवालयका लागि आवश्यक पर्ने संरचना केही पहिले निर्माण भएका थिए भने केही निर्माणकै क्रममा छ ।  

दुई वर्षदेखि दोजाम कर्णाली क्षेत्रमा पार्क बनाउने कार्य अन्तिम चरणमा रहेको छ । त्यसपछि नदी किनारबाट डेढसय मिटर लामो बाटोलाई आरसिसी गरिएको छ भने सो सडकको नदीतर्फको किनारमा रेलिङ निर्माण गरिएको छ । निर्माणका लागि सङ्घीय सरकारको आर्थिक सहयोगमा खार्पुनाथ गाउँपालिकाले ग्यामछुुङ धर्म जेभी मार्फत दुई वर्षअघि सम्झौता गरेको थियो । 

सो जेभीका स्थानीय प्रतिनिधि दानबहादुर रावलले निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार मसान्तसम्म सबै काम सम्पन्न हुने बताउनुभयो । यी काम निर्माणका लागि चार करोडको लगानी रहेको छ । अब शिवालय क्षेत्रमा मन्दिर मूर्ति निर्माण गर्ने काम बाँकी छ ।