• १३ असोज २०८१, आइतबार

गोरखापत्र समाचार प्रभाव

प्रहरीद्वारा मुचुल्का नगरी लगेको लाखौँको सामान फिर्ता

blog

सचिन पोख्रेल

इटहरी, फागुन २४ गते । नेपाल प्रहरीको लागु औषध ब्युरो अन्तरगत झापामा परिचालित टोलीले दमकस्थित एक घरबाट एक महिना अघि गरेको एउटा सर्च र कारबाही प्रक्रियाको क्रममा लगेको विभिन्न सामान प्रहरीले सम्बन्धित परिवारलाई फिर्ता गरेको छ ।

गत माघ १८ गते ब्युरोको टोलीले दमक नगरपालिका वडा नम्बर २ खरखरेबाट तीनजनालाइ केही परिणामको लागु औषधसहित पक्राउ गरेको र त्यस क्रममा केही नगद सुन लगायतका विभिन्न समान प्रहरी प्रतिवेदन र मुचुल्कासमेतमा उल्लेख नगरी लगको विषयको समाचार गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा प्रकाशित भयसँगै प्रहरीले समान फिर्ता गरेको छ । ब्युरोका प्रहरी नायव निरीक्षक सचिन्द्र लामिछानेको नेतृत्वमा गएको टोलीले दमक २ खरखरेबाट दमकका ३७ वर्षका तेजकुमार खवास, ३५ वर्षका सुनिल श्रेष्ठ र २२ वर्षका विजय धिमाललाई पक्राउ गरेको थियो । 

घर खानतलासी गर्ने क्रममा ब्युरोको टोलीले लगेका विभिन्न सवारी साधन, नगद, सुन लगायत विभिन्न बहुमूल्य सामानमध्ये प्रहरी प्रतिवेदन र मुचुल्कामा उल्लेख नगरी लगेको सामान समाचार प्रकाशित भएपछि आरोपीका आफन्तलाई इलाका प्रहरी कार्यालय दमकमार्फत फिर्ता गरिदिएको हो ।

पक्राउ परेका सुनिलका ज्वाइँ अनुप गुरुङले गोरखापत्रमा समाचार प्रकाशित भएपछि ब्युरोको टोलीले इप्रकामार्फत बोलाएर सामान फिर्ता दिएको बताउनु भयो । उहाँले आरोपीहरुलाइ पक्राउ गर्ने क्रममा घरबाट लगेको सामानमध्ये मुचुल्कामा समावेश नगरी गलत नियतका साथ जबरजस्ती लगेको प्रोजेक्टर,  एप्पल ल्यापटप, चार थान मोबाइल, सुन र चाँदीका गहना, घडी लगायतका सामान फिर्ता दिइएको बताउनु भयो । समाचार प्रकाशित भएकै दिन हिजो प्रहरीले बोलाएर सामान फिर्ता गरेको उहाँको भनाइ छ । ब्युरोको टोलीले खानतलासीको क्रममा घरबाट लगेको नगद छ लाख भने फिर्ता नगरेको उहाँको आरोप छ । त्यसै गरी, प्रहरी प्रतिवेदनमा उल्लेख गरिएका सामान भने प्रहरीले अनुसन्धानको क्रममा राखेको इप्रका दमकले जनाएको छ । 

आरोपीहरुलाइ पक्राउ गर्ने क्रममा उनीहरू बसेको घरको खानतलासी गर्दै ब्युरोको टोलीले विभिन्न सामग्रीहरू लिएर गए पनि प्रहरी प्रतिवेदन र मुचुल्कामा उल्लेख नगरेको पाइए पछि पक्राउ गर्ने प्रहरी टोलीको नियतमाथि शङ्का बढेपछि घटना विवादित बनेको छ । 

इप्रका दमकको हिरासतमा रहेका यस घटनाका तीन जना आरोपीसमेतले आफूहरू लागु औषध सेवनकर्ता रहेको तर ब्युरोको टोलीले आफूहरूसँग रहेको करिब एक ग्राम ब्राउन सुगर अठार ग्राम थप गरी मुचुल्कामा देखाएको आरोप आरोपीहरूको छ । ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गर्दा साथबाट लागु औषध र त्यससँग प्रत्यक्ष सम्बन्धित सामान मात्र बरामद गर्नु पर्नेमा अन्य सामानसमेत लिएर गएको र त्यसलाई प्रहरी प्रतिवेदन र मुचुल्कामा पनि उल्लेख नगरेको घटना सार्वजनिक भएपछि प्रहरीको नियतमा शङ्का देखिएको प्रहरीको माथिल्लो तहबाट पनि चासो व्यक्त भइसकेको छ ।  

यसै बिच, लागु औषध ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालसमेतले ब्युरोको टोलीको संलग्नतामा भएको सो विवादित घटनाको सन्दर्भमा यथार्थ बुझ्न  र अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीलाई परिचालन गरिएको बताउनु भएको छ ।