• १३ साउन २०८१, आइतबार

‘खुला अर्थतन्त्रले मात्र लाभ’

blog

काठमाडौँ, फागुन २४ गते । खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरूले बताएका छन् । काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले काठमाडौँमा मङ्गलबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरूले अहिलेको विश्वमा शतप्रतिशत आत्मनिर्भरता असम्भव रहेकाले खुला व्यापारको विकल्प नरहेको धारणा राखेका थिए ।

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकेडेमी, बैङ्गलोरअन्तर्गत साउथ एसिया बोर्ड एकेडेमी अफ इन्टरनेसनल बिजनेसका अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैँ अवसर ल्याउने बताउनुभयो । “यसले प्रतिस्पर्धी क्षमताको विकास र प्रविधिको प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ,” उहाँले भन्नुभयो । तर, नेपालले आफ्नै स्थानीय स्रोतमा आधारित उत्पादन बढाउनुपर्नेमा उहाँको जोड थियो । उहाँका अनुसार व्यापार विविधीकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटनलगायतका क्षेत्रमा काम गर्र्नुपर्छ । 

भारत सरकारका पूर्ववाणिज्य सचिव डा. अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ, त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताउनुभयो । “कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो,” उहाँले भन्नुभयो, “अहिलेको समयमा शतप्रतिशत आत्मनिर्भर असम्भव रहेकाले खुला व्यापारको विकल्प कम्तीमा व्यापारमा सिर्जनशीलता चाहनेका लागि छैन ।” अहिले विश्वमा बहुआयामिक आर्थिक सङ्कट देखिएको तर यो सङ्कट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उहाँको दाबी छ । 

इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट उदइपुरका बिजनेस पोलिसी एन्ड स्ट्रटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौला उद्योग हुने बताउनुभयो । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनी दृश्यमा बढी आए पनि साना तथा मझौला उद्योग निकै महत्त्वपूर्ण हुने उहाँको धारणा थियो । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएको र उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताउनुभयो । नेपालले अपनाएको अहिलेसम्मको व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको उहाँको भनाइ थियो । 

विश्व व्यापार सङ्गठनअन्तर्गतको डब्लूटीओ चेयर्स प्रोग्रामका नलेज म्यानेजमेन्ट डिभिजनका निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार सङ्गठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताउनुभयो । त्यसैअनुसार नेपालमा पनि डब्लूटीओ चेयर्स प्रोग्राम कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो । 

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लूटीओ चेयर्स प्रोग्राम नेपालका अध्यक्ष प्रोफेसर डा. देवीप्रसाद बिडारीले विश्वव्यापीकरण कुनै पनि अर्थतन्त्रका लागि आफैँमा राम्रो भए पनि नेपालजस्तो मुलुकका लागि केही चुनौती पनि रहेको बताउनुभयो । “हामी अझै सिर्जनशील हुन आवश्यक छ किनभने नेपालमा औद्योगिकीकरण कमजोर छ अनि उपयुक्त  शिक्षा तथा तालिम, बजारअनुसारको सीप विकास गर्नुपर्नेजस्ता थुप्रै चुनौती छन्,” उहाँले भन्नुभयो । डब्लूटीओ चेयर्स प्रोग्रामअन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यावहारिक काम हुने उहाँले जानकारी दिनुभयो । 

काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा डब्लूटीओ चेयर्स प्रोग्रामका सहअध्यक्ष प्राध्यापक अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधीकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताउनुभयो । ठूला छिमेकीले इतिहासमा आफ्नो भू–राजनीतिक स्वार्थ पूरा गर्न व्यापारलाई रणनीतिक वस्तुका रूपमा उपयोग गरेकाले व्यापार विविधीकरण महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । वस्तु निर्यातमा कमजोर रहँदारहँदै सेवा व्यापारमा पनि नेपाल कमजोर रहेको उहाँले बताउनुभयो । “उच्च शिक्षा, उच्च स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय हवाई सेवामा नेपाल खुद आयातकर्ता हो,” उहाँले भन्नुभयो । सन् २००४ मा नेपाल विश्व व्यापार सङ्गठनमा आबद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीति असफल रहेको उहाँको भनाइ थियो । व्यापारमा खुलापन, आर्थिक विकास र आर्थिक दिगोपन विषयमा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन बुधबारसम्म चल्नेछ ।