• ८ मंसिर २०८१, शनिबार

निःशुल्क अनिवार्य शिक्षा लागू

blog

बनेपा समाचारदाता 

बनेपा, फागुन २४ गते । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ। 

गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत चार वर्ष पूरा भई १३ वर्ष ननाघेका अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारणले विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीति अघि सारेको हो। बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले निःशुल्क अनिवार्य शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि बढाउने बताउनुभयो। 

उहाँले कतिपय बालबालिका अपाङ्गता, गरिबी र आमाबुवा नभएका कारण विद्यालयसम्म नपुगेको जानकारी प्राप्त भएपछि उक्त कार्यक्रम लागू गर्न लागेको भन्दै उनीहरूलाई पालिकाले पोसाक, झोला, जुत्ता, पुस्तक, कापीकलमलगायतका सामग्री उपलब्ध गराउने बताउनुभयो। गाउँपालिका अध्यक्ष अधिकारीले अभिभावकलाई प्रोत्साहन गर्दा पनि कुनै बहानामा आफ्ना बालबालिकालाई विद्यालय नपठाएमा गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधा रोक्का गरी बालबालिकालाई विद्यालय पठाएपछि मात्र सेवालाई निरन्तरता दिने बाध्यकारी नीति बनाएरै भए पनि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याइने बताउनुभयो। 

निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा सुरु गरी निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गर्दै अन्त्यमा निःशुल्क अनिवार्य शिक्षायुक्त गाउँपालिका घोषणा गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ती शिक्षकमार्फत शिक्षा दिइने बताउनुभयो। यसका लागि प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने, शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिने, फर्म तयारी गरिने र सूचक बनाएर टोली खटाइने बताउनुभयो।