• १३ साउन २०८१, आइतबार

सिकिस्त बिरामीलाई काठमाडौं पुर्‍याउनुपर्ने बाध्यता हट्दै

blog

नेपालगञ्जस्थित वेष्टर्न अस्पताल । फाइल तस्बिर

राँझा, फागुन २३ गते । नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाडौं वा भारतको लखनउ पुर्‍याउनुपर्ने बाध्यता हट्दै गएको छ ।

सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्टर्न अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आईसीयु) सेवा सुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा सीमित सघन उपचारकक्ष रहे पनि सिकिस्त बिरामीको सङ्ख्या धेरै हुने हुँदा थप उपचारका लागि काठमाडौं वा भारतको लखनउ पठाउनुपर्ने बाध्यता थियो ।

आईसीयु सञ्चालन नहुँदा वेष्टर्न अस्पतालले मात्रै दैनिक करिब पाँच सिकिस्त बिरामीलाई थप उपचारका लागि काठमाडौं वा भारतको लखनउ पठाउँदै आएको थियो । अब नेपालगञ्जमै आईसीयु कक्ष भएपछि बिरामीले आफ्नै ठाउँमा सहजरूपमा उपचार पाउने डा. थापाको भनाइ छ ।

आईसीयुमा भर्ना हुने हरेक बिरामीका लागि एक–एक जना तालिमप्राप्त नर्सका साथै २४सै घण्टा ‘क्रिटिकल केयर कन्सल्टेन्ट’ चिकित्सकको निगरानी रहने व्यवस्था मिलाइएको छ । यस्तो सुविधा भएको आईसीयु सञ्चालन गर्ने वेष्टर्न अस्पताल काठमाडौं उपत्यका बाहिरको पहिलो निजी अस्पताल हो ।

विगत १९ वर्षदेखि सञ्चालित वेष्टर्न अस्पतालले छ शय्याको एचडीयु सेवा पनि सुरु गरेको छ । केही दिनमै छ शय्याको एनआईसीयु पनि सञ्चालन गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक थापाले जानकारी दिनुभयो ।

आईसीयुमा भर्ना हुने बिरामीको स्वास्थ्य सूचकहरूका बारेमा जानकारी दिनका लागि डब्लुएचओको मापदण्डअनुसार बिरामीको स्वास्थ्य सूचक सूचना प्रणाली मिलाइएको छ । आईसीयुमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूबाट उच्च शिक्षा र तालिमप्राप्त अनुभवी चिकित्सक र नर्सहरू कार्यरत रहेको प्रबन्ध निर्देशक थापाको भनाइ छ ।

अत्याधुनिक उपकरण र दक्ष स्टाफ नर्ससहित चिकित्सकहरूको टिम बनाएर वेष्टर्न अस्पतालले नेपालगञ्जमै काठमाडौं र लखनउका ठूला र सुविधासम्पन्न अस्पतालकै हाराहारीमा उपचार सेवा दिने प्रयास गरिरहेको अस्पतालको क्रिटिकल केयर विभागका प्रमुख डा. पारस पाण्डेले जानकारी दिनुभयो । रासस