विविधताभित्र एकताको भाव रहनु नेपाली समाज तथा संस्कृतिको विशेषता हो, यही विविधताभित्रको एकताले गर्दा हरेक जात–जातिका सामाजिक, सांस्कृतिक चालचलन, रीतिरिवाज, जात्रापर्वहरूले नेपालको पहिचान कायम गरेका छन् । बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक समयमा विभिन्न जात्रा, पर्व तथा उत्सव मनाइन्छ; जसको ऐतिहासिक–सांस्कृतिक, धार्मिक तथा सामाजिक महत्व छ । यस्ता रीतिरिवाज तथा परम्पराले नेपाली समाज तथा राष्ट्रिय एकता, सामाजिक सद्भाव, मैत्रीपूर्ण भावना तथा प्रेमको सन्देश दिएका छन् । यहाँ मनाइने विभिन्न पर्वमध्ये होली अर्थात् फागु पनि एक हो, वसन्त ऋतुको समाप्ति र गृष्म ऋतु आगमनसँगै मनाइने यस पर्वलाई होली, फगुवा, होरी पनि भनिन्छ ।
प्रत्येक वर्ष फाल्गुण पूर्णिमाको दिन मनाइने हुनाले यसलाई फागु भनिएको हो । जसको प्राचीनताबारे विभिन्न धार्मिक, पौराणिक ग्रन्थमा उल्लेख छ । विभिन्न सडक, चोक, गल्ली, घरका बरण्डा, ठूला प्राङ्गणमा एकआपसमा खुसी साटासाट गर्दै मनाइने यस पर्वलाई रङहरूको पर्व पनि भनिन्छ, जसले आत्मीयता, प्रेम, मित्रता तथा सामाजिक सद्भावको सन्देश दिन्छ । फागुको सुरुवातलाई हेर्दा ऐतिहासिक कालसम्म पुग्नुपर्ने हुन्छ, केही पौराणिक तथा ऐतिहासिक स्रोतले यसको सम्बन्ध भगवान् श्रीकृष्णसँग देखाएका छन्, जसअनुसार प्रेमका साक्षात स्वरूप उनका १६ सय गोपिनी थिए ।
श्रीकृष्णले आफ्नो लामो समय द्वारिका, मथुरा र वृन्दावनमा बिताएका थिए । पुतना नामकी राक्षसीलाई मारेपछि आफ्ना गोपाल तथा गोपिनीका साथ नाचगान, रमाइलो गर्दै आपसमा माया साटासाट गर्दागर्दै यो पर्वको प्रारम्भ भएको मानिन्छ । आजभोलि पनि होलीको अवसरमा गाइने कतिपय लोकगाथा श्रीकृष्ण र उनका प्रिय गोपिनीका बीचको माया पिरतीमा आधारित छन् । यस्तै भविष्य पुराणलाई उद्धृत गर्दै स्रोतमा चर्चा गरेअनुसार राजा युधिष्ठिरले होलिको उत्सवका बारेमा श्रीकृष्णलाई सोध्दा यस दिनमा रक्षामन्त्र पढ्दै विभिन्न क्रियाकलाप गर्दा केटाकेटीलाई हरण गर्ने, दुःख दिने राक्षसीको विनाशपछि होलिका उत्सवको परम्परा चल्यो भनी बताएका थिए ।
होलीकै प्रारम्भका सन्दर्भमा अर्को पौराणिक कथनले ‘होली’को सम्बन्ध ‘होलीका’ नामकी राक्षसी राजकुमारी, सोही प्रकृतिका उनका पिता हिरण्यकशिपु तथा उनका ईश्वरभक्त छोरा प्रल्हादसँग देखाइएको छ । जसअनुसार प्राचीन समयमा हिरण्यकशिपुले राज्य गरिरहेको समयमा अन्याय, अत्याचार, असत्यको बाहुल्यता थियो । ईश्वर भक्त शोषित भएको अवस्थामा हिरण्यकशिपुका पुत्र प्रल्हाद भने ईश्वरभक्त तथा सत्यवादी थिए । यही भएकाले उनी असत्य, अत्याचार, अन्यायका विरुद्धमा सत्मार्गतर्पm लागेका थिए । यो कुरा राक्षसी प्रवृत्ति तथा असत्यवादी पिता हिरण्यकशिपुलाई मन नपरेपछि प्रल्हादले सत्मार्गप्रति देखाएको साहसलाई दबाउन ईश्वरविरोधी बाबुले उनलाई अनेक यातना दिएका थिए । सजायस्वरूप उनलाई पहाडबाट खसाल्ने, हात्तीलाई कुल्चाउने, आगोमा फसाउनेजस्ता अनेक कुकृत्य गर्दा पनि प्रल्हाद सत्मार्गबाट च्युत भएनन् ।
अनेक प्रयास असफल भएपछि अन्त्यमा प्रल्हादलाई पत्थरको स्तम्भमा बाँधेर काट्न लाग्दा सोही खम्बाबाट नरसिंह (शरीरको आधा भाग मानिस र आधा भाग जनावर) प्रकट भएका थिए । पछि राक्षसी प्रवृत्तिका हिरण्यकशिपुलाई सत्य र न्यायका लागि चिरफार गरेर रक्तधारा बगाएको भन्ने कथन छ, यसपछि राक्षसी प्रवृत्तिको अन्त्य भएको खुसियालीमा अबिर आदि रङ परस्परमा लगाएर खुसी बाँडियो ।
यही सन्दर्भमा अर्को कथनअनुसार अन्याय र अत्याचारको विरोधमा लडेका प्रल्हादको साहस र आत्मविश्वासलाई निस्तेज पार्न हिरण्यकशिपुले बहिनी होलिकाको साथ लिएका थिए, दाजुको आज्ञाअनुसार प्रल्हादलाई जलाउन साथमा लिएर आगोमा हाम फाल्दा सत्यवादी प्रल्हादकै विजय भयो र उनलाई अबिरयात्रा गरेर उत्सव मनाइयो, यसमा अग्निदेवले होलिकालाई भष्म पारे, होलिका जलेर भष्म भएपछि असत्यको प्रतीक होलिकाको विनाश भएको सम्झनास्वरूप खुसियालीमा होली उत्सव मनाउने चलनको प्रादुर्भाव भएको कुरा कथामा वर्णित छ ।
प्रायः सबै कथा सुन्दा तथा घटना हेर्दा असत्य, अत्याचार, शोषणको अन्त्य तथा सत्मार्गतर्पm लागेकाको विजय भएको खुसियालीका रूपमा होली पर्व मनाउने चलनको सुरुवात भएको मानिन्छ । यसले एकातिर धार्मिक आस्था, विश्वास तथा सत्मार्ग देखाएको छ भने अर्कोतिर असत्यको कहिल्यै विजय नहुने, शोषण गर्नेहरूको आफैँ पतन हुने सामाजिक तथा धार्मिक सन्देश दिएको छ । यसर्थ प्राचीनकालमा सुख, शान्तिका विरुद्धमा हुने आतङ्क, शोषण र भयको निराकरणका लागि राक्षसी प्रकृत्तिलाई भगाउनका लागि फागुपूर्णिमाको दिनमा अग्निकुण्डमा आगो बालेर आपसमा रमाइलो, नाचगान, सद्भाव साटासाट गर्दा राक्षसी प्रवृत्ति भाग्ने जनविश्वासका आधारमा होली खेल्ने चलनको सुरुवात भएको देखिन्छ । यसै पनि रातो रङ विजय तथा खुसियालीको प्रतीक भएकाले यी जनविश्वास यथार्थका नजिक छन् ।
प्राचीनकालमा फागुपूर्णिमाको दिन ‘वैश्वदेव’ नामक यज्ञ गरिन्थ्यो, फागुपूर्णिमाको दिन आगोमा भुटेको अन्नलाई संस्कृतमा ‘होलका’ भनिन्छ, घरघरमा भिœयाइएका विभिन्न नयाँ अन्नको आहुति दिन्थे र बाँकी अन्न प्रसादका रूपमा ग्रहण गर्ने क्रममा भष्म भएको अन्न टीकाका रूपमा लगाई होलिकोत्सव मनाउने चलन थियो । नेपालमा होली (फागु) मनाउने इतिहास हेर्दा प्राचीनकालबाटै यसको सुरुवात भएको कुरा इतिहासकारले उल्लेख गरेका छन् ।
काठमाडौँमा होली मनाउने थालनीबारेको कथनअनुसार एक पटक उत्तर प्राचीनकालमा सिंह सार्थबाह नामका व्यापारी व्यापारको सिलसिलामा ल्हासा जाँदाको कथालाई जोडिएको छ, यस दिनलाई नेवारीमा ‘चकद्य’ यात्रा भनिन्छ । लिच्छवि काल, मल्ल काल हुँदै आजसम्म पनि होली मनाउने परम्परा कायमै छ । केही स्रोतमा लिच्छवि कालमा पौष महिनामा होली मनाइन्थ्यो भन्ने चर्चा छ । आजभोलि काठमाडौँ उपत्यकालगायत विशेषतः तराई तथा अन्य क्षेत्रमा होली विशेष उल्लासका साथ मनाइन्छ ।
उपत्यकामा मनाइने होलीको विशेष महत्व छ, यहाँ फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा काठको पच्चीस फुट अग्लो चीर गाडिन्छ, जसलाई विभिन्न रङका कपडाका टुक्राले छाताको आकृतिमा सजिसजाउ बनाइएको हुन्छ, जसले वृन्दावनको कदमको वृक्षको सम्झना गराउँछ । उक्त चीरलाई पूर्णिमाको दिन टुँडिखेलमा लगेर डडाएपछि फागु सम्पन्न भएको मानिन्छ ।
चीरदाह गरेको खरानी दल्ने, टीका लगाउने, फागुको गीत गाउँदै घरघर गई रङ, अबिर खेल्ने चलन छ । मध्यरातमा यहाँ गुरुमापा राक्षसलाई भोज खुवाउने चलन पनि रहिआएको छ । हनुमानढोका दरबार अगाडि चीर गाड्ने चलन पृथ्वीनारायण शाहले काठमाडौँ विजय गरेपछि सुरुवात गरेको कुरा पुस्तकमा उल्लेख छ । तराई क्षेत्रमा होलीको ‘चीरदाह’लाई सम्मत जलाउने भनिन्छ, विशेषगरी थारू जतिले आपसमा मनोरञ्जनका साथ नाचगान गरी ‘फगुवा’ मनाउँछन् । त्यसैगरी गुरुङ समुदायले आफ्नो रोधीघरमा रमाइलो गर्छन् भने अन्य समुदायले आ–आफ्नो स्थानमा परम्पराअनुसार एकआपसमा प्रेम–सद्भाव, सहानुभूति आदान प्रदान गरी हर्षोल्लासका साथ होली मनाउने गर्छन् ।
होलीमा उपत्यकामा ठड्याउने काठको चीर तथा कपडाबारे पौराणिक कथालाई आधार मानेर स्रोतमा चर्चा गरेअनुसार काठको पोलको टुप्पोमा एउटा छाता आकारको रङ्गीन कपडा झुन्डाएको थियो, यो २५ फिट अग्लो काठको पोलले वृन्दावनमा भएको ‘कदम्ब’को रुखको प्रतिनिधित्व गर्दथ्यो, केही ‘ब्राज’ महिला एक दिन जमुना नदीको किनारमा नाङ्गै नुहाइरहेको अवस्थामा थिए, कृष्णले उनीहरूको कपडा चोरिदिए र ती कपडा उनले कदम्बको रुखमा राखिदिए, जब महिला नुहाएर बाहिर निस्किएपछि दुम्बित भई लुगा फिर्ता गर्न कृष्णसँग अनुरोध गरे तर उनले उनीहरूलाई एउटा नैतिक शिक्षा सिकाउन चाहे र उनले भने कि त्यो नियम नमानेर तिमीहरूले ठूलो अपराध ग¥यौ । यसबाट मुक्त हुन उनीहरूले नदीबाट बाहिर आई सूर्य भगवान्को पूजा गर्नु पर्दथ्यो, त्यहाँ कुनै विकल्प नभएको कारणले कृष्णले उनीहरूलाई सोहीअनुरूप गर्न निर्देशित गरेपछि कृष्णले उनीहरूलाई लुगा फिर्ता गरिदिए र चेतावनी दिए कि त्यहाँ नाङ्गै नुहाउनु अपराध हुनेछ । सायद यसैको परिणामस्वरूप हिन्दु महिलाले नुहाउँदा शरीरमा एउटा कपडा लगाउन कहिल्यै बिर्सेनन् ।
यस कथाले पनि होलीको महत्व राख्दछ, कथामा जेजसरी चर्चा गरिए पनि प्राचीनकालदेखि नै मनाउँदै आएको ‘होली’को ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक महत्व छ । असत्यबाट सत्यतर्पm लाग्ने प्रेरणाका रूपमा मनाउन सुरु गरेको कुरा पौराणिक कथनले पुष्टि गर्दछन् । यसले एकातिर धार्मिक, समाजिक, सांस्कृतिक महìव बोकेको छ भने अर्कोतर्पm विकृति, विसङ्गति अन्त्यका लागि सौहार्दपूर्ण ढङ्गबाट ऐतिहासिक सन्देशको मर्मअनुुसार यो पर्व मनाउनुपर्छ भन्ने सामाजिक सन्देश हो ।
विभिन्न रङहरूले भरिएका पानीका लोला प्रयोग गर्दा अर्काको शरीर तथा स्वास्थ्यप्रति सजग हुनुपर्छ । आजभोलि होलीको नाममा पर्व सुरु हुनुअघिदेखि नै लोला हान्ने, पानी छ्याप्ने, मानव स्वास्थ्य र शरीरमा असर पुग्ने रङ तथा पानीको प्रयोग गर्ने, यसै शैलीमा एसिड प्रहार गर्नेजस्ता विकृति तथा सामाजिक एकता र सद्भाव बिगार्ने क्रियाकलाप भित्रिएका छन् । यी कुरा होलीले दिएको ऐतिहासिक, सामाजिक, धार्मिक सन्देशभित्र पर्दैनन्, तसर्थ यस्ता विकृतिको अन्त्य हुन जरुरी छ ।
सरकार, प्रशासनिक निकाय तथा स्वयं पर्व मनाउनेले यसतर्फ सजग हुनु जरुरी छ कि होली संस्कृतिको पर्व हो, विकृतिको पर्व होइन । आपसी प्रेम, सद्भाव, खुसियाली प्रकट गर्ने पर्व भएकाले रङ साटासाटका क्रममा कसैको इच्छाविपरीत जबरजस्ती रङ लगाइदिने, दूषित पानी छ्याप्ने, लोला हान्ने, लतपत पारिदिनेजस्ता विकृतिको अन्त्य गरी अनुशासित र मित्रवत् ढङ्गबाट होली मनाउनुपर्छ ।
स्वेच्छाले गरिने रसरङ्गले आपसी सद्भाव बढाउँछ भने यसले सांस्कृतिक, धार्मिक, सामाजिक महìव राख्छ । तसर्थ होलीलाई सामाजिक एकता, आपसी मेल, प्रेम र सद्भावको पर्वका रूपमा मनाउँदै भाइचारा र सद्भावको दृष्टिकोणले हेरिनुपर्छ । जसरी होलीमा धेरै रङको सम्मिश्रण हुन्छ, त्यसरी नै सबै भाषा, धर्म, जाति, समुदाय आपसमा मिलेर सौहार्दपूर्ण ढङ्गले होली मनाई राष्ट्रिय, सामाजिक एकता र सद्भाव देखाउनु नै यसको सार्थक सामाजिक र नैतिक सन्देश हो ।
लेखक इतिहास तथा संस्कृतिका अध्यापक हुनुहुन्छ ।