• १३ साउन २०८१, आइतबार

एमाले अध्यक्ष ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण छ : प्रवक्ता शर्मा

blog

सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, फागुन २१ गते। सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको बताएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अध्यक्ष ओलीको भनाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो। 

 सरकारका प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौँ।’’ 

 प्रवक्ता शर्माले मुस्ताङमा कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको सम्बन्धमा मिडियामा आएका विषयको आवश्यक छानबिन गरेर सत्य र तथ्य सार्वजनिक गर्नेसमेत उल्लेख गर्नुभएको छ। सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा शृङ्खलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद रहेको उहाँको भनाइ छ। उहाँले परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने उहाँले बताउनुभयो। 

‘‘यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानबिन गरी सत्य, तथ्य सार्वजनिक गर्ने ब्यहोरा जानकारी गराउन चाहन्छौँ। 

सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्ध रूपमा सार्वजनिक हुनु दुःखद छ। परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन’’, प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।  

परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त नभएको विज्ञप्तिमा उल्लेख छ। नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै उहाँले भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुन सञ्चारमाध्यम र आम जनसमुदायलाई अपिल गर्नुभएको छ। 

‘‘मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवम् स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ। नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ। तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ’’, प्रवक्ता शर्माले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा थप भनिएको छ।