• १३ असोज २०८१, आइतबार

रुइतद्वारा जन्मस्थानका नागरिकको आँखा उपचार

blog

फक्ताङ्लुङ गाउँपालिकामा सम्पन्न शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरुको साथमा डा. सन्दुक रुइत । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २१ गते । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू जन्मेको ठाउँ ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा पुगेर आँखाका बिरामीको उपचार गर्नुभएको छ । जिल्लाकै दुर्गम तथा बिकट स्थानीय तहको रूपमा रहेको फक्ताङ्लुङ गाउँपालिकामा डा. रुइतले शल्यक्रियासहित आँखाका बिरामीको उपचार गर्नुभएको हो । 

गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोकमा शनिबार र आइतबार दुई दिन सञ्चालित निःशुल्क आँखा शिविरमार्फत डा. रुइतले मोतियाविन्दुका रोगीको शल्यक्रिया साथै उपचार सेवा प्रदान गर्नुभयो । डा. रुइतको नेतृत्वमा अर्का नेत्र रोग विशेषज्ञ डा. होम गुरुङको संलग्नतामा शनिबार ५० जना र आइतबार २० गरी ७० जना मोतियाविन्दु भएका रोगीको आँखाको शल्यक्रिया गरिएको छ । 

मोतियाविन्दु भएका चार जनालाई भने शल्यक्रियासहित उपचारका लागि तिलगङ्गा आँखा अस्पतालका लागि सिफारिस गरिएको फक्ताङ्लुङ गाउँपालिकाका कार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार मोतियाविन्दुको अवस्था केही जटिल देखिएकाले उहाँलाई आँखाको शल्यक्रिया गर्न तिलगङ्गा सिफारिस गरिएको हो ।    

फक्ताङ्लुङ गाउँपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गरिएको समेत करिब दुई हजार पाँचसय जनाले आँखा परीक्षण गराएका छन् । गत साताको सोमबारदेखि गाउँ–गाउँमा पुगेर आँखा परीक्षण शिविर सञ्चालन गरी उपचार सेवा प्रवाह गर्नुका साथै मोतियाविन्दुका रोगी पहिचान गरिएको थियो । गाउँटोलमा सञ्चालन गरिएको शिविरमार्फत मोतियाविन्दु पहिचान भएका बिरामीको शनिबार र आइतबार आँखाको शल्यक्रिया गरिएको हो । 

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार दुर्गम तथा विकट बस्ती भएका कारण गाउँ–गाउँमा पुगेर आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो । आँखा परीक्षण शिविरबाट मोतियाविन्दु पहिचान भएकालाई पालिका केन्द्र तापेथाकमा केन्द्रित गरी शल्यक्रिया साथै उपचार सेवा प्रवाह गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो । 

उहाँकाअनुसार गत सोमबारदेखि प्रत्येक वडाका नागरिकलाई पायक पर्नेगरी गाउँगाउँमा आँखा परीक्षण शिविर सञ्चालन गरी शनिबार र आइतबार शल्यक्रियासहितको शिविर सञ्चालन गरिएको थियो । दुर्गम हिमाली गाउँहरू घुन्सा, फले, ग्याब्ला, ओलाङ्चुङगोलामा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । यस्तै लेलेपको इलाडाँडा, हान्द्रङटार, तापेथोक, हेल्लोक, छिरुवा र सिँवाबजारमा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।  

निःशुल्क आँखा शिविर भने तिलगङ्गा आँखा प्रतिष्ठान र तेज पोली रुइत फाउण्डेसनको प्राविधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको थियो । शिविरको सम्पूर्ण खर्च व्यवस्थापन गाउँपालिकाले बेहोरेको छ । आँखाका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई गाउँदेखि उपचार अर्थात् शिविर सञ्चालन केन्द्र तापेथोकसम्म आउजाउमा लाग्ने खर्च, खानपान तथा आवाससहितको सबै खर्च गाउँपालिकाले नै गरिदिएको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो । 

यता गाउँमै आँखा उपचार गराउन पाएकोमा स्थानीय सर्वसाधारणले राहत महसुस गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका ५९ वर्षी वीरबहादुर लिम्बूले शल्यक्रिया गरेपछि आँखा देख्न थालेको बताउनुभयो । इखाबुकै ३२ वर्षीया पार्वता लिम्बूले पनि दुवै आँखाको शल्यक्रिया गराउनुभयो ।