• १३ असोज २०८१, आइतबार

पुलको नट भाँचिदा सवारी आवागमन प्रभावित

blog

भोजपुर र धनकुटा जोड्ने अरुण नदीको पुल । तस्बिर : गोकुल भुजेल

गोकुल भुजेल
भोजपुर, फागुन २१ गते ।
 भोजपुर र धनकुटा जोड्ने अरुण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिदा सवारी साधन आवतजावत प्रभावित भएको छ । विगत ३ दिनदेखि पुलको मध्य भागमा स्टिल ग्रिन्डर र भर्टिकल पोष्ट जोडने वेस प्लेटको आठ वटा नट भाँचिदा जिल्ला आवतजावत गर्ने सवारी साधन प्रभावित भएका हुन् ।

पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाउनुका साथै १० टनभन्दा बढीको सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरद कुमार थापाले बताउनुभयो । 

उहाँका अनुसार पुलको नट भाँचिएसँगै जिल्ला सदरमुकाम, अन्नपूर्ण, मानेभञ्जयांग लगायत क्षेत्र आवतजावत गर्ने १० टनभन्दा धेरै लोड भएका मालवाहक सवारी साधन आवतजावतमा नियन्त्रण गरिएको छ । साथै अन्य सवारी साधन पनि पूर्णरुपमा सञ्चालन हुन सकेको छैन । 


पुलको नट भाँचिनुको मुख्य कारण भने पुल निर्माण पश्चात् समयअनुसार पुलको मर्मत नहुनु, गाडीहरूले बोक्ने लोड बढी हुनु, गाडी आवतजावतको चाँप बढ्नु, पुलको सीमित ठाउँमा मात्र लोड धेरै भएका कारण भएको हुनसक्ने लेगुवा भोजपुर सडक हेर्ने सडक डिभिजन कार्यालय तिम्लीङटारका प्रमुख राजेन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार पुल मर्मत गर्न चितवनबाट प्राविधिक टिम आएपछि नट लगाउने र अन्य मर्मत गर्ने योजना रहेको छ ।

यता, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरेका अनुसार पुलको नट भाँचिएपछि सवारी सुरक्षालाई मध्यनजर गरी सवारी आवतजावतमा नियन्त्रण गरिएको छ । जसमा पालैपालो सवारी साधन आवतजावत गर्ने, १० टनभन्दा माथिका गाडीहरूलाई प्रवेश गर्न नदिने लगायत कार्य गरिएको छ । त्यस्तै, तत्कालको आवश्यकता नट बनाउने र सवारी आवतजावत सुचारुसँगै पुलको मर्मत गर्न सम्बन्धित कार्यालय कार्य अगाडि बढाइसकेको समेत प्रजिअ घिमिरेले बताउनुभयो ।