• १३ साउन २०८१, आइतबार

क्रिस्टलको गहना बनाउने पुनर्ताजगी तालिम सम्पन्न

blog

सहभागिहरुले तालिम अवधिमा बनाएका क्रिस्टलका गहनाहरू । तस्विरः बाबुराम शर्मा

बाबुराम शर्मा

दोलखा, फागुन २१ गते । महिलाहरूलाई सिप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको  क्रिस्टलको गहना बनाउने १० दिने पुनर्ताजगी तालिम सम्पन्न भएको  छ । 

यसअघि तालिम लिएका महिलाहरूका लागि सिप क्षमता वृद्धि गर्न भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र गौरीशङ्कर सामुदायिक पुस्तकालयको व्यवस्थापनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यो तालिम सञ्चालन गरिएको पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिनु भयो । 

उहाँका अनुसार महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ पुनर्ताजगी तालिमको आयोजना गरिएको हो । पुस्तकालयसँग समुदायलाई जोड्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको छ । समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा पुस्तकालयले पुलको रूपमा पनि काम गरिरहेको छ । 

यो तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले गरिब, विपन्न सीमान्तकृत समुदायलाई उद्यमी तथा स्वरोजगार बनाउँदै  आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नगरपालिकाको प्रयास जारी रहेको बताउनु भयो । 

यो युगमा पनि महिलाहरू चुल्हो चौकोमा मात्र सीमित भई पुरुषको मात्र भर पर्नु नहुने उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बन्न नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनु भयो । सीप सिक्नु र त्यसको उपयोग गर्नु ठुलो कुरा रहेको बताउँदै महिलाहरूको सशक्तीकरणका लागि नगरपालिका साथमा रहेको उहाँले बताउनु भयो ।